कांग्रेस नेता डा शेखर कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तनको विकल्प नभएको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संवाददाताहरूसँग कुरा गर्दै कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न असफल भएको आरोप लगाए । उनले यो सरकारले जनतामा आशसम्म जगाउन नसक्ने सरकार परिवर्तनको विकल्प नभएको बताएका हुन् ।

कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने कोइरालाको दाबी थियो । यो सरकारसँग जनता निराश भएका छन् । जताततै भ्रष्टाचार र व्यथिति मौलाएको छ । उनले भने, ‘जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन । कोइरालाले सरकारको असक्षमताका कारण मुलुकमा आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकता मौलाएको छ ।’

कांग्रेसले मात्रै मुलुकको समस्या समाधान गर्न नेता कोइरालाको तर्क थियो । कांग्रेसमा आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै नेता कोइरालाले भने, ‘लोकतन्त्रमा अंकको खेल हुन्छ । हाम्रो समूहमा दलको नेता फेर्ने आवश्यक संख्या छैन ।

कोशी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनु पर्नेमा जोड दिँदै कोइरालाले पहिचानवादीहरूसँग वार्ताको टेबलमा बसेर विवाद मिलाउन पर्ने सुझाए । ‘कोशी नामका विषयमा विवाद छ । त्यसलाई असन्तुष्ट पक्षसित बसेर समाधान गर्नुपर्छ,’ उनले भने ।




