
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूसँग बेच्नका लागि मदन–वीपी कोही नभएको भन्दै ठूला दलहरुप्रति व्यङग्य गरेका छन् । ठूला भनिएका दलहरूले मदन–वीपीको नाम बेच्ने गरेको बताउँदै उनले आफूहरूसँग सुशासनको एजेण्डा मात्रै भएको बताए ।

‘बेच्नका लागि हामीसँग मदन–वीपी कोही छैनन् । हामीसँग गरेर देखाउन सुशानको एजेण्डा छ । हृदय र क्षमतावान् व्यक्तित्वहरू हुनुहुन्छ । हामी त्यसकै आधारमा अगाडि बढेका हौं,’ उनले भने । सभापति लामिछानेले नेताहरूले नातपात र साला–भतिजालाई भागबण्डा गरेर देश डुबाएको आरोप लगाए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पदको बाँडफाँड नगर्ने स्पष्ट पारे ।


उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गरे ।
उनले रास्वपाको उम्मेदवार प्राइमरी निर्वाचनबाट चुनिएर आउने स्पष्ट पारे । ‘आगामी निर्वाचनमा हामीले टीका लगाएर उम्मेदवार बनाउने छैनौं । प्राइमरी इलेक्सन गराएर उम्मेदवार उठाउनेछौं। पैसाको बिटो र रक्सीका बोतल बोकेर चुनाव लड्नेको विरोधी हौं हामी,’ उनले भने, ‘आउने निर्वाचनसम्म एक से एक मान्छेहरू तयार हुनेछन् । ती मान्छेहरूलाई छान्ने जिम्मा पनि तपाईहरूकै हुनेछ ।’









