काठमाडौं । राष्ट्रिय सभाका उम्मेदवारका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा पक्ष छुट्टै वैठकमा जुटेको छ ।


गठबन्धनको विहानको बैठकपछि नेता कोइराला र महामन्त्री थापा सभापति देउवासँग छलफल गर्न धुम्बाराही गएका थिए । उक्त बैठकमा संख्या, मापदण्ड, योगदानलगायतका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । ‘पार्टीले मापदण्ड लागु गर्ने निर्णय गरेको छ । सभापति देउवा मापदण्ड लागु गर्ने सोंच देखिएन,’ संस्थापन इतरका एक भन्छन्, ‘आफू अनुकूलका व्यक्तिहरुलाई ल्याउन मापदण्डको ख्याल गरेको देखिएन ।’

भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिइने बैठकको निर्णय थियो । अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने पार्टी निर्णय छ । सभापति देउवाले उम्मेदवार बनाउँदा पार्टीले गरेका निर्णय लत्याउन लागेको शेखर–गगन पक्षको आरोप छ । पार्टीभित्रको भागवण्डामा सम्माजनक हिस्सेदारीको कुरा समेत भएको थियो । शेखर–गगन पक्षले चार जना आफ्नो समूहलाई दिनुपर्ने माग गरेको थियो । सभापति देउवा तिन जनाका लागि तयार भएका थिए ।












