
रुपन्देही- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टीबाट राजीनामा दिएका छन्। समाजवादीको लुम्बिनी प्रदेश कमिटी सचिवसमेत रहेका उनले मंगलबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
अध्यक्ष माधवकुमार नेपाललाई लेखेको राजीनामा पत्रमा उनले एकीकृत समाजवादी पार्टीको सदस्यता, केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश कमिटीको सचिवमा रहन असमर्थ रहेको जनाएका छन्।

नेता गुरुङको रुपन्देहीमा राम्रो प्रभाव थियो। यसअघि २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा गुरुङ रूपन्देही क्षेत्र नम्बर २ मा उठ्न तयार थिए। तर बैंकिङ कसुरसम्बन्धी मुद्दा विचाराधीन रहेकाले उम्मेदवार हुन अयोग्य भन्दै उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका गुरुङको उम्मेदवारी खारेजीमा परेपछि रुपन्देही २ मा नेकपा एमालेबाट विष्णुप्रसाद पौडेलले चुनाव जित्न सजिलो भएको थियो। एमालेमा हुँदा गुरुङ पनि पौडेलकै निकट थिए। -एनपि




