अर्घाखाँची: शीतभण्डारमा राखेका ६३ टन सुन्तला कुहिएर नष्ट, किसान चिन्तित

spot_img

-प्रेमनारायण आचार्य

अर्घाखाँची- अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखाैँ मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको किसान खगेन्द्र पौडेलले बताउनुभयो ।

unn.prixa.net

शीतभण्डारमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि झण्डै ५६ लाख ७० हजार घाटा व्यहोर्नु परेको छ । किसान मानबहादुर श्रेष्ठ, चिरञ्जीवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीतभण्डारमा स्थानीयस्तरमा उत्पादन भएको ९० टन सुन्तला राख्नुभएको थियो । बेमौसमी समयमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले राखेका सुन्तलामा ढुसी लागेपछि घाटा परेको किसानको भनाइ छ ।

अघिल्ला दुई वर्षमा पनि कुहिएर सुन्तला नोक्सान भएको थियो । यस वर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मङ्सिरमा विज्ञ प्राविधिक ल्याएर किसानलाई गाउँमै शीतभण्डारमा सुन्तला राख्ने तरिका सिकाएको थियो । सिकाएअनुसार सुन्तला भण्डारण गर्दा पनि कुहिएर नष्ट भएको किसानको भनाइ छ ।

सुन्तला कसरी र किन कुहियो भनी नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक उमेश आचार्यको र कृषि विकास निर्देशनालयको टोलीले स्थलगतरुपमा अवलोकन गरी अनुसन्धान शुरु गरेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभयो ।

अन्य समाचारहरु