अर्घाखाँचीमा दुई दिनमा ९५ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया

spot_img

-सागर महत ।

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धीखर्कमा आयोजना गरिएको आँखा शिविरमा झण्डै एक सय जनाको मोतिबिन्दुको शल्यक्रिया गरिउको छ । मोतिबिन्दुको उपचारलगायतका निःशुल्क सेवा प्राप्त गर्दा स्थानीयलाई ठूलो राहत मिलेको छ ।

अर्घाखाँचीमा २ दिनमा ९५ जनाको आँखाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । मोतिबिन्दुका कारण आँखा नदेखि घरमै बस्न बाध्य स्थानीयहरु निःशुल्क उपचार गर्न पाउँदा दंग भएका छन । मालारानी गाउँपालिका ६ का ७५ वर्षिय रामबहादुर थापाले एउटा आँखाले देख्न छोडेको दुई वर्ष भईसकेको थियो । अहिले शल्यक्रिया गरेर आँखा देख्दा निकै खुशी लागेको थापाले बताउनुभयो ।

यस्तै, सन्धिखर्क वडा नम्बर ११ का ९१ वर्षिय धन बहादुर कुँवर र प्युठानको झिमरुक गाउँपालिकाकी ६७ वर्षकी खुमकला पुन मगरले पनि धेरै वर्षपछि बाहिरी संसार देख्न पाउँदा निकै खुशी लागेको बताउनुहुन्छ ।

ग्लोबल मेडिकल फाउन्डेसन अष्ट्रेलियाको आर्थिक सहयोग, दिगो विकास केन्द्र अर्घाखाँचीको आयोजना तथा जिल्ला आँखा उपचार केन्द्र सन्धिखर्कको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । यस पटक ९५ जनासहित पछिल्लो ३ वर्षमा तीन सय जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको दिगो विकास केन्द्र अर्घाखाँचीका अध्यक्ष डा. जयबहादुर टण्डनले बताउनुभयो ।

शिविरले आर्थिक अवस्था कमजोर भएर उपचार गराउन नसकेका पीडितहरुलाई ठूलो राहत पुगेको छ । उपचारका लागि बुटवल र काठमाडौंसम्म जानुपर्ने खर्च समेत बचत भएको राष्ट्रिय बिमा बोर्डका सदस्य मुक्तिराम श्रेष्ठले बताउनुभयो ।

सो संस्थाले जिल्लाका ग्रामीण क्षेत्रमा आँखा परिक्षण, निःशुल्क औषधि वितरण, चस्मा वितरण, दाँतको परिक्षणलगायतका स्वास्थ्य सेवा पनि उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म १७ सय बढी बिरामीको उपचार गरिएको संस्थाको दाबी छ ।