पाणिनिमा ५ दिने महोत्सव हुँदै, ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको आगमन हुने

spot_img

-भिम बिश्वकर्मा।

अर्घाखाँची । अर्घाखाँचीको पाणिनिमा ५ दिने महोत्सव हुने भएको छ ।

पाणिनि पर्यटन समाजको आयोजनामा “हाम्रो पाणिनि राम्रो पाणिनि, कला र संस्कृतिको समृद्ध पाणिनि” भन्ने मूल नारा सहित सातौँ पाणिनि दुर्वाशेश्वर महोत्सव हुन लागेको हो । महाशिवरात्रिको अवसर पारेर यही फागुन २४ देखि २८ गतेसम्म पाणिनि गाउँपालिकाको कुरुले फाँटमा महोत्सव सञ्चालन हुने समाजका अध्यक्ष झबिन सुनामले जानकारी दिए ।

उनका अनुसार पाणिनि गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन वृद्धि गर्न एवं स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नका लागि मेला आयोजना गरिएको सुनामले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । मेलामा ३० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । मेलामा स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको प्रस्तुती समेत रहनेछ । महोत्सवमा पाणिनि गाउपालिका स्तरीय भलिबल प्रतियोगिता, खल्ला डान्स आइडल तथा गाउपालिका स्तरीय भजन प्रतियोगिता समेत हुने छ ।

महोत्सवमा व्यापारीका ५० र होटलका २० स्टल गरी ७० स्टल रहने आयोजकले जनाएको छ । यसका साथै वाल उद्यान, झुला लगायतको व्यवस्था समेत हुनेछ । मेलामा २५ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ भने ३० लाखसम्मको कारोबार हुने आयोजकको लक्ष्य रहेको छ । महोत्सवको लागि टिकट शुल्क समेत तय गरिएको छ । साधारण तर्फ रु १०० विद्यार्थीहरूको लागि ७० रुपैयाँ तथा ७० वर्ष कटेका ज्येष्ठ नागरिक र अपाङ्गहरूका लागि भने प्रवेश निशुल्क गरिएको छ ।