लुम्बिनी: माओवादीका दुई मन्त्री बर्खास्त, माओवादीले लियो समर्थन फिर्ता

spot_img

दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीले अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकासमन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् ।

चौधरी गत वैशाख १४ गते नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य सबै ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री चौधरीलाई  माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राजमो, एकीकृत समाजवादीलगायत ८ राजनीतिक दलको समर्थन थियो ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ जना सांसदले विश्वासको मत दिनुपर्ने हुन्छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपा, नागरिक उन्मुक्ति र जनमतका ४–४, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्रबाट १ सांसद रहेका छन् । यही हिसाबले हेर्दा साना दलहरुले सरकारलाई समर्थन नगरेमा केन्द्रमा भएको गठबन्धनअनुसार लुम्बिनी प्रदेशमा सरकार बन्न कठिन देखिन्छ ।

यसैबीच माओवादी केन्द्रले पनि मुख्यमन्त्री चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारुले समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र मुख्यमन्त्रीको सचिवालयमा बुझाएको जानकारी दिए ।