एमाले–माओवादीले निहुँ खोजे प्रदेश सभा विघटन गरिदिने मुख्यमन्त्री कार्कीको चेतावनी

spot_img

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाको नेतृत्व परिवर्तनका लागि चलखेल सुरु गरे संसद धेरै समय नटिक्ने चेतावनी दिएका छन् । उनले संविधानको धारा १६८ (५) बमोजिम बनेको सरकार भएकाले यसलाई अंक गणितले कुनै असर नपार्ने बताए ।

उनले सरकारमा बस्नेलाई बस्न दिने र अरु केही सरकारमा नबसेको खण्डमा कांग्रेसले मात्रै सरकारको नेतृत्व गर्ने बताए । आफूमाथि अविश्वासको प्रस्ताव आएर विश्वासको मत नपाए संसद् नै नरहने उनको दाबी छ ।

मुख्यमन्त्री कार्की संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभालाई विघटन गरी छ महीनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्ने व्यवस्था रहेको छ ।

प्रदेश सरकार गठनका लागि यसअघि संविधानले दिएका सबै प्रावधानहरु प्रयोग भइसकेको अवस्थामा अब आफूमात्रै अन्तिम विकल्प भएको मुख्यमन्त्री कार्कीको दाबी छ । केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलसँगै प्रदेश सरकारमा पनि हलचल सुरु भएको छ । अन्य प्रदेशहरुमा मुख्यमन्त्रीले मन्त्री बर्खास्त गरिरहेका छन् । कोशी प्रदेशमा पनि मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन सत्ता गठबन्धनमा रहेका दलहरु माओवादी र एमालेबाट दबाव रहेको बताइएको छ ।

तर, मुख्यमन्त्री कार्कीेले भने आफू राजीनामा नदिने र विश्वासको मत लिन पर्ने अवस्था आउँदा संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभा विघटन हुने बताउँदै आएका छन् ।

कोशीमा गत वर्ष सम्पन्न प्रदेश सभा निर्वाचनपछि हालसम्म सबै विकल्पमा सरकार बनिसकेका छन् । उपधारा १ देखि ५ सम्मका सबै विकल्प पयोग गरेपनि डेढ वर्षमै प्रदेश सभा विघटन हुने अवस्थामा पुगेको छ ।

गत वर्षको निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादीबीचको सत्ता सहकार्यमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की गत असार १५ गतेसम्म मुख्यमन्त्री रहेका थिए । केन्द्रको राजनीतिमा आएको उलटफेरपछि कार्की असार १५ गते प्रदेश सभाबाट विश्वासको मत नपाएपछि पदच्यूत भएका थिए ।

कार्कीपछि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा दुईपटक मुख्यमन्त्री बनेका थिए ।करिब २ महिनामा दुई पटक मुख्यमन्त्री बनेका थापा सर्वोच्च अदालतको परमादेशपछि पदबाट च्यूत भएका थिए । थापापछि प्रदेश सभाको सबैभन्दा ठूलो दलको रुपमा कार्की पुनः एक महिना मुख्यमन्त्री बनेका थिए । संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौं २३ गतेदेखि असोज २० गतेसम्म मुख्यमन्त्री बनेका थिए । कार्कीले पनि प्रदेश सभाबाट विश्वासको मत नपाएपछि असोज २७ गते एमालेका ३९ सांसदको समर्थनमा पार्टीबाट विद्रोह गर्दै नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका थिए ।

पार्टीका विद्रोही ८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई पछि अन्य सबै दल (राप्रपा बाहेक) ले समर्थन गरेका थिए । हालपनि एमालेसहितका दलहरुले समर्थन गरिरहेका छन् । तर, एमाले सरकारमा सहभागी भएको छैन् । एकाएक गत सोमबार केन्द्रको राजनीतिमा आएको उलटफेरपछि फेरी कोशीको राजनीति तरल बनेको छ । कोशीमा पुनः एमालेले सरकार बनाउने तयारी गरिरहँदा प्रदेश सभाको आगामी अवस्था कस्तो हुने भन्नेबारेमा प्रश्न उठ्न थालेको छ । केन्द्रको राजनीतिक समीकरणलाई हेरेर नै मुख्यमन्त्री कार्कीले एमाले माओवादीले निहुँ खोजे प्रदेश सभा विघटन गरिदिने चेतावनी दिएका हुन् ।

– रिपोटर्स नेपाल ।