अब एमालेलाई हेप्नेहरूले गम्भीर धोका खान्छन् : अध्यक्ष ओली

spot_img

कञ्चनपुर- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने ठोकुवा गरेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ मा आज आयोजित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गरेका हुन् ।

उनले कांग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने प्रष्ट पारे । ‘एमाले एउटा यस्तो शक्ति हो, जसलाई पूरै आँखा चिम्लेर नकार्छु, टेर्दिनँ भन्नेहरू सिद्धिन्छन्,’ अध्यक्ष ओलीले भने । एमालेलाई हेप्नेहरूले गम्भीर धोका खानेसमेत ओलीले बताए ।

कांग्रेसले आफूसँग दुई तिहाई छ जस्तो गरेकाले सरकारबाटै हट्नु परेको अध्यक्ष ओलीले प्रष्ट पारे । ‘कांग्रेसले आफूसँग दुई तिहाई छ जस्तो गरेकाले सरकारबाटै हट्नु परेको हो । उसले एमाले जस्तो पार्टीलाई टेरेन । आज परिणाम भोग्यो,’ अध्यक्ष ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले मुलुक र जनताको सवालमा सबै दल एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता पनि औंल्याए । ‘हामी लोकतान्त्रिक प्रणालीमा छौं । बहुदलीय व्यवस्थामा छौं । दलहरू फरक–फरक हुन्छन् । विचार फरक–फरक होला । तर, संविधानको रक्षा, देशको एकता, मुलुकको सार्वभौम सत्ता र भूमिको रक्षाका लागि सरकार अगाडि बढ्नुपर्छ, यस्तो काम गर्ने सरकारलाई जनताले साथ दिनुपर्छ,’ ओलीले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामिलामा सबै दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औंल्याए । ‘सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टहरूलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ,’ उनको भनाइ थियो ।

दोधारा चाँदनी वडा नम्बर ६ का वडाध्यक्ष ओमकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष ओलीले वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटनसमेत गरे । सो क्रममा अध्यक्ष ओलीले प्रशंसनीय काम गरेको भन्दै वडाध्यक्ष बस्नेतलाई र नगरपालिकाका प्रमुखलाई धन्यवादसमेत दिएका छन् । – इ कागज