गृहमन्त्रीको राजीनामा मागेको हैन, छानबिन प्रभावित नहोस् भनेका हौँ : कांग्रेस सांसद पौडेल

spot_img

दाङ। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आफूहरूले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको दाबी गरेका छन् । शनिबार दाङमा एका कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तामा जान कुनै हतार नभएको बताए ।

सांसद पौडेलले कांग्रेसको भन्दा आधा सीट भएको माओवादीलाई प्रधानमन्त्री स्वीकार्नु गलत भएको बताउँदै भने, ‘कांग्रेसको सीटभन्दा आधा कम भएको पार्टी हो माओवादी, त्यसैले कांग्रेसले माओवादीको नेतृत्वलाई प्रधानमन्त्री स्वीकार्ने नै अचम्मको विषय थियो ।’

नेता पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न गरे । संसदमा प्रश्न उठिसकेपछि छानबिन स्वतन्त्र र निष्पक्ष बनाउन गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाइएको उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीले गठबन्धन तोड्दै गर्दा कसैमाथि प्रश्न उठेको छ भने त्यसलाई मन्त्रीमण्डलमा ल्याउँदैनौं भन्नु भएको थियो, हामीले अहिले उहाँ (गृहमन्त्री)को राजीनामा भनेको होइन, राजीनामा दिने र नदिने उहाँको नैतिकताको विषय हो,’ उनले भने, ‘हामीले छानबिन हुनुपर्छ, छानबिन प्रभावित हुनु हुँदैन भनेका हौँ, संसदीय छानबिन गर्नु उहाँको लागि पनि राम्रो हुन्छ भन्ने हाम्रो बुझाइ हो ।’

उनले संसदमा अवरोध गरेर कांग्रेसले आफ्नो सिद्धान्तमाथि प्रहार नगर्ने संकेत गरे ।