लुम्बिनी सरकारबाट बाहिरियो नाउपा, एमाले-माओवादी गठबन्धनलाई सहयोग गर्ने

spot_img

दाङ नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।

केन्द्रमा भएको सत्तागठबन्धन अनुसार कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिँदै नाउपाले समर्थनसमेत फिर्ता लिएको छ । सुदूरपश्चिम प्रदेशमा सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद भइरहेका बेला नाउपाले लुम्बिनीमा भने सरकार छाडेको हो ।

नाउपा संसदीय दलका नेता रहेका भौतिक पूर्वाधारमन्त्री धर्मबहादुर चौधरी (Dharma Bahadur Chaudhary) ले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई बिहीबार राजीनामा बुझाएका छन् । कांग्रेस नेतृत्वको गठबन्धनको साथ छोडेको जानकारी दिँदै उनले एमाले-माओवादीसहित बनेको गठबन्धनलाई सघाउने निर्णय भएको उल्लेख गरेका छन् ।

योसँगै चौधरी नेतृत्वको वर्तमान सरकारले विश्वासको मत नपाउने भएका छन् । लुम्बिनीमा चौथो ठूलो दल रहेको नाउपाको ४ सांसद छन् । जनता समाजवादी पार्टी (जसपा)ले यसअघि नै चौधरी नेतृत्वको सरकारबाट राजीनामा दिँदै समर्थन समेत फिर्ता लिएको थियो ।

मुख्यमन्त्री चौधरीले अहिले अपराह्न प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका थिए । तर साना दलले समर्थन नगरेपछि अल्पमतमा परेका चौधरीले राजीनामा दिने निर्णयमा पुगेका छन् ।

– एनपी