भोलि सुदूरपश्चिममा नयाँ सरकार बन्ने र आफ्नो पार्टीले नेतृत्व गर्ने अध्यक्ष रञ्जिता चौधरीले दावी गरिन् । अध्यक्ष रञ्जिताका अनुसार नाउपालाई मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री दिने बिषयमा बुधवार (हिजो) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसहितको बैठकमा ‘भद्र सहमति’ भएको छ ।
घनश्यामले रञ्जिता पक्षधरहरूको टीकापुर बैठकमा भएका निर्णयमा लिखित असहमति जनाएका थिए । यसपछि रञ्जिताले संसद् सचिवालयलाई पत्र पठाएर घनश्यामलाई संसदीय दलको नेताबाट हटाएको जानकारी गराएकी थिइन् । तर नाउपाका रेशम पक्षधरहरूले संसदीय दलको नेता हटाउन संसदीय दलको बैठकले निर्णय गर्नुपर्छ भन्दै तर्क गरिरहेका छन् ।
संसदीय दलमा सुरुमा नाउपाका ७ सांसद थिए । यीमध्ये समानुपातिक सांसद इन्दिरा गिरीलाई पनि रञ्जिताले कारबाही गरिसकेकी छिन् । उनले संसद सचिवालयलाई पत्र पठाएर पार्टीले उनलाई कारबाही गरेको जानकारी गराएकी छन् । अहिले सुदूरपश्चिम सरकारमा नाउपाका ६ जना सांसद छन् तीमध्ये चार जना रेशम पक्षधर मानिन्छन् । नाउपाको संसदीय दलमा रमेश पक्ष बलिया छन् भने पार्टी कार्यसमितिमा रञ्जिताको पल्ला भारी देखिन्छ ।
केन्द्रमा नयाँ गठबन्धन बनेसँगै नाउपाका रञ्जिता र रेशमबीचको विवाद बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेश सभामा सुरुमा ५३ जना सांसद थिए । तीमध्ये कांग्रेसका एक जना सांसदको निधन भयो । नाउपाकी एक जना कारबाहीमा परिन् । अहिले प्रदेश सभामा ५१ जना सांसद छन् । तीमध्ये सरकारको नेतृत्व गर्न आफूसहित २६ जना सांसद चाहिन्छ । प्रदेश सभामा कांग्रेस १८, माओवादी ११, एमाले १०, नाउपा ६, नेकपा एकीकृत समाजवादी ४, राप्रपा १ र एक जना स्वतन्त्र सांसद छन् ।
– एनपि