गगनको दाबी– प्रचण्डको सरकार माघ पनि कट्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सहितका दलको गठबन्धन सरकार आउँदो माघ नकट्ने दाबी गरेका छन् । इलाम– २ को चुनावी सभालाई शनिवार सम्बोधन गर्दै थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यसै वर्षको माघ नकाट्ने दाबी गरेका हुन् ।

‘२०७९ सालमा वाम गठबन्धनका नाममा कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक ठाउँमा उभिएर मत माग्यौं । घामजुनसम्म एक हुन्छौंसम्म भन्यौं । तर त्यो नभएपनि पाँच वर्षसम्म सँगै हुन चाहन्थ्यौं । तर हामीले मात्रै चाहेर भएन,’ उनले भने, ‘अहिले फेरि एमाले र माओवादी जोडिएर आउनुभएको छ । हाम्रोबीच मितेरी साइनमो मात्रै होइन रगत पनि एउटै भनेर आउनुभएको छ । म कसम खाएर भन्दिन, तर म दाबी गरेर इलामेली जनतासमक्ष भन्न सक्छु– आज वैशाख ८ गते हो अहिलेको गठबन्धनले २०८१ को माघ कटाएछ भने म तपाईंहरूकै अगाडि जवाफ दिन आउनेछु ।’

चुनाव अगाडिको गठबन्धन धोका, बेमाइनी, मतदाताकाे अभिमतकाे अवमूल्यन भएको पूर्वमन्त्रीसमेत रहेका थापाले बताए ।

‘यस्तो गठबन्धनलाई हाइहाई होइन, बाइबाई गर्नुपर्ने बेला आएको छ । चुनावअगाडिको गठबन्धनले हाम्रो राजनीतिलाई विकृत बनाएको छ,’ उनले भने, ‘इलामलाई अवसर आएको छ । गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिनुपर्छ ।’