इलामको उपनिर्वाचनलगत्तै कांग्रेसलाई देखाईदिने गृहमन्त्री लामिछानेको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले आफ्नो राजीनामा किन मागिएको भन्ने कुरा माग्नेहरुलाई चाँडै थाहा हुने चेतानवी दिएका छन् । इलाम–२ को उपनिर्वाचनको लागि पार्टीले आयोजना गरेको आजको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले भने,‘बेथितिको पहाड ठूलो छ । सफा गर्न अलिअलि समय लाग्छ । तर, कसैले चिन्ता गर्न पर्दैन् । उनीहरु किन आँत्तिएका हुन् ? उनीहरुलाई मेरो राजीनामा किन चाहियो भन्ने कुरा चाँडै थाहा हुन्छ । सकेसम्म चुनावअघि थाहा होस भनेर कोशिस गरेको थिएँ । त्यहीपनि अझै निराश भएको छैन् । चुनावको अलिक समयपछि राम्रोसँग थाहा हुन्छ । के का लागि त्यत्रा बल्ड्याँङ्ग्रे हेडलाईन लेखिएको रहेछ ? यसलाई राजीनामा गराउँदा के फाईदा हुने रहेछ ? डेढ वर्षअघि खुलेको दल सबैको लागि तारो किन भएको रहेछ ? राम्रोसँग थाहा हुन्छ । चाँडै थाहा हुन्छ । धेरै कुरा अहिले भन्यो भने फेरि आँत्तिन्छन् । फेरि राजीनामा दे, फेरि समिति गठन गर्न भन्छन् ।’

उनले जतिसुकै ठूलो स्यालहुयाँई गरेपनि आफूले भ्रष्टाचारका सबै फाईल खोल्ने र कारबाही गर्ने उद्घोष गरे । यदि त्यसो गर्न नसके राजीनामा दिएर हिँड्ने उनको भनाई छ ।