प्रचण्डलाई गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेँछु : डा. भट्टराई

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूले लगातार चुनाव जित्दै आएको क्षेत्र गोरखा–२ छाड्नु गलत भएको टिप्पणी गरेका छन्।

२०७९ मंसिरमा भएको चुनावमा दाहालले चितवन छाडेर बाबुरामले प्रतिनिधित्व गर्दै आएको गोरखा २ मा प्रतिस्पर्धा गरेका थिए। दाहाललाई सहज रुपमा निर्वाचन क्षेत्र छाडेका भट्टराई त्यसप्रति ग्लानि व्यक्त गरेका हुन्। भट्टराईले आफ्नै उक्त निर्णयमा मतदाता र पार्टीका नेताकार्यकर्तासँग क्षमा मागेका छन्।

भट्टराईले आफूले असल मनशायका साथ क्षेत्र छाडे पनि प्रचण्डबाट धोका पाएको उल्लेख गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नांगो रूपमा प्रदर्शित हुँदै गइरहेको, उल्टै मैले उनलाई निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दै गइरहेको, देश र जनताका आकांक्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौं जनताका अतुलनीय त्याग र बलिदानलाई उनको सत्तास्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी आयोगहरूका कामलाई टुंग्याउनु सट्टा खेलबाड गरिरहेको लगायतका घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टि मसँग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन।’

गृह जिल्ला पुगेका भट्टराई मतदातासँग कुराकानी गरेपछि दाहालविरुद्ध आक्रोश पोखेका हुन्। सुरुमा माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता नै गर्ने समझदारी भए पनि बिथोलिएको छ। नेसपाका सांसदसहित अधिकांश नेता कार्यकर्ता माओवादीमा आबद्ध हुन थालेपछि भट्टराई दाहालविरुद्ध त्रुद्ध बनेका छन्।

-एनपि