




काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले संविधान संशोधनलाई प्राथमिकता दिंदै कार्यदल गठन गर्ने निर्णय गरेको छ। १६ असारदेखि सुरु भई सोमबार राती सम्पन्न भएको बैठकले कांग्रेस र नेकपा (एमाले) बीचको सात बुँदे सहमतिमा संविधान संशोधनको प्रतिबद्धतालाई अगाडी बढाउन कार्यदल बनाउने भएको हो।

बैठकको निर्णय सुनाउदै प्रवक्ता डा प्रकाश शरण महतले पार्टीले कार्यदल बनाएर संबिधान संसोधन गर्ने विषय पहिल्याउन कार्यदल बनाउने र कार्यदलले दिएको सुझावको आधारमा सत्ता साझेदार दलसंग छलफल गर्ने बताउनु भयो। संबिधान संसोधनको विषयमा सत्ता साझेदार दल बाहेकका दलहरु सँग पनि छलफल गर्ने डा महतले जानकारी दिनु भयो। पार्टीले गठन गरेको कार्यदलले विधान निर्माणमा सहकार्य गरेका दल, विज्ञ, विशेषज्ञ र नागरिक समाजसँग संवाद गर्ने बताउनु भयो।

यस्तै बैठकले कृषि, व्यापार र सुन–चाँदी व्यवसायसँग सम्बन्धित समसामयिक मुद्दामा सरकारको ध्यानाकर्षण गराउने भएको छ । प्रवक्ता महतका अनुसार, कृषि क्षेत्रका लागि रासायनिक मलखादको तत्काल व्यवस्था, वितरण प्रणालीमा सुधार, प्राकृतिक विषादी र प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन, र रासायनिक विषादीको गुणस्तर नियमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने बताउनु भयो।

यस्तै, बैठकले सुन–चाँदीलाई विलासिताको वस्तुको रूपमा परिभाषित गर्ने नीति र कोटा प्रणाली खारेज गर्नुपर्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिनुभयो। यस्तै सरकारले आन्दोलनरत र अनशनरत व्यवसायीहरूसँग अबिलम्ब वार्ता गर्न सरकारलाई ध्यानाकर्षण गराएको पनि डा महतले जानकारी दिनुभयो।



