

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको पश्चिम भू–भाग आसपास रहेको उपल्लो वायुमण्डलीय न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भू–भागमा मौसममा बदली देखिएको छ।

देशका हिमाली तथा पहाडी क्षेत्रमा आज सामान्यदेखि आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहने विभागले जनाएको छ। लुम्बिनी, सुदूरपश्चिम लगायत देशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन तथा गर्मीको प्रभाव कायम रहने अनुमान गरिएको छ। मौसमविद्हरूले अत्यधिक गर्मी हुने क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
आज राति कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भागमा सामान्य बदली रहने तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।



