
-केशव पन्थी / अर्घाखाँची डटकम
अर्घाखाँची, असार ६ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ मा तनाव व्यवस्थापन, कानुनी सचेतना तथा सकारात्मक सोच विकास सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजना तथा युवा सरोकार महासंघको सहजीकरणमा सम्पन्न कार्यक्रम समुदायस्तरमा मानसिक स्वास्थ्य, कानुनी ज्ञान र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।


वडा अध्यक्ष तेज प्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्घाखाँची जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डे, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवसबहादुर जिसी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेल तथा जिल्ला अस्पतालका वरिष्ठ डाक्टर खगेन्द्र आचार्यले सहजीकरण गर्नुभएको थियो ।


कार्यक्रममा कानुनी अधिकार, न्यायमा पहुँच, नागरिक सुरक्षा, साइबर अपराध, घरेलु हिंसा, लागुऔषध दुव्र्यसन, मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। वक्ताहरूले कानुनी सचेतना, मानसिक स्वास्थ्यप्रति सजगता र सकारात्मक सोचले स्वस्थ, सुरक्षित तथा सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।


कार्यक्रममा स्थानीय नागरिकहरूले न्यायिक प्रक्रिया, सामाजिक विवाद, सार्वजनिक सुरक्षा, युवामा बढ्दो कुलत तथा सेवा प्रवाह सम्बन्धी जिज्ञासा र समस्याहरू राखेका थिए। सहभागीका प्रश्नमा सम्बन्धित निकायका प्रतिनिधिहरूले व्यवहारिक र स्पष्ट जवाफ दिएका थिए।


स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, समाजसेवी, महिला स्वास्थ्य स्वयंसेविका, युवा तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा यस्ता सचेतनामूलक कार्यक्रमले समुदायमा कानुनी तथा सामाजिक जागरण बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।
तस्बिर : केशव पन्थी / अर्घाखाँची डटकम













