
-अस्लम अली, ,अर्घाखाँची डटकम
अर्घाखाँची, असार १० । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ बल्कोटस्थित हुसेनी इमामगाहा (इमामबाडा) मा मोहर्रम (हाइदोस) पर्व श्रद्धा, भक्ति र धार्मिक उत्साहका साथ मनाइँदै छ। पर्वका अवसरमा इमामबाडालाई आकर्षक ढंगले सजाइएको छ भने स्थानीय मुस्लिम समुदाय धार्मिक गतिविधिमा सक्रिय रूपमा सहभागी भएका छन्।


मोहर्रम पर्व अन्तर्गत असार ९ गतेदेखि सुरु भएका धार्मिक कार्यक्रमहरू असार १२ गते रातिसम्म सञ्चालन हुने जनाइएको छ। पर्वको दोस्रो दिन आज असार १० गते ‘ताजिया बोट्ल्नु’ (जियारत उठाउने) दिनका रूपमा विशेष धार्मिक महत्वका साथ मनाइँदै छ। यस अवसरमा श्रद्धालुहरू इमामबाडामा भेला भई प्रार्थना, जियारत तथा अन्य धार्मिक अनुष्ठानमा सहभागी भएका छन्।


मोहर्रम इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्वमध्ये एक मानिन्छ। विशेषगरी इमाम हुसैन र करबलाको ऐतिहासिक घटनाको सम्झनामा यो पर्व मनाउने परम्परा रहेको छ। यस अवसरमा धार्मिक सद्भाव, त्याग, बलिदान र मानवताको सन्देश प्रवाह गरिने गरिन्छ।


स्थानीयवासीका अनुसार हरेक वर्ष बल्कोटमा मोहर्रम पर्व परम्परागत रूपमा मनाउने गरिएको छ। यस वर्ष पनि पर्वलाई व्यवस्थित र भव्य बनाउन आवश्यक तयारी गरिएको छ। इमामबाडाको सजावट, धार्मिक कार्यक्रम तथा समुदायको सक्रिय सहभागिताले क्षेत्रको धार्मिक तथा सांस्कृतिक माहोललाई थप जीवन्त बनाएको छ।


पर्व अवधिभर विभिन्न धार्मिक कार्यक्रम, जियारत तथा सामूहिक सहभागितामूलक गतिविधिहरू सञ्चालन हुने जनाइएको छ।
📸 तस्बिर : अस्लम अली







