
-केशव पन्थि, अर्घाखाँची डट्कम।
अर्घाखाँची, साउन २२। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा १५ शैयाको पालिका स्तरीय भूमिकास्थान आधारभूत अस्पताल सञ्चालनमा आएको छ। नगरप्रमुख झविलाल थापाले बिहीबार आयोजित एक समारोहका बीच अस्पतालको औपचारिक उद्घाटन गर्नुभएको हो।

अस्पताल सञ्चालनमा आएसँगै नगरभित्रै आधारभूत तथा केही विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ। यसअघि सामान्य उपचारदेखि थप स्वास्थ्य सेवाका लागि जिल्ला सदरमुकाम सन्धिखर्क, बुटवल तथा अन्य शहर धाउनुपर्ने बाध्यता भोग्दै आएका स्थानीय नागरिक अब आफ्नै पालिकाबाट सेवा लिन सक्ने भएका छन्।


अस्पतालमा मेडिकल अधिकृत डा. भोज बहादुर भण्डारीसहित १४ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गर्नेछ। अस्पतालबाट बहिरङ्ग (ओपीडी), आकस्मिक सेवा, सुरक्षित मातृत्व, प्रयोगशाला, औषधि वितरण, खोप तथा अन्य आधारभूत स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गरिने जनाइएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख झविलाल थापाले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्याउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले अस्पताललाई क्रमशः थप सेवा, दक्ष जनशक्ति र आधुनिक स्वास्थ्य उपकरणसहित सुदृढ बनाउँदै लैजाने नगरपालिकाको योजना रहेको जानकारी दिनुभयो।


अस्पताल सञ्चालनले विशेषगरी दुर्गम बस्तीका नागरिक, ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबालिका तथा दीर्घरोगीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। समयमै उपचार नपाउँदा हुने जोखिम न्यूनीकरण हुनुका साथै उपचारका लागि बाहिर जानुपर्ने समय र आर्थिक भारसमेत घट्ने विश्वास नगरपालिकाको छ।

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी,स्वास्थ्य स्वंम्यसेविका, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीयवासीको सहभागिता रहेको थियो। सहभागीहरूले पालिका स्तरमै अस्पताल सञ्चालन हुनु भूमिकास्थान नगरपालिकाको स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएका थिए।

स्थानीयवासीले अस्पतालमा पर्याप्त औषधि, आवश्यक उपकरण र दक्ष स्वास्थ्य जनशक्तिको निरन्तर व्यवस्थापन गर्दै सेवा प्रभावकारी बनाउन आग्रह गरेका छन्। नगरपालिकाले पनि अस्पताललाई आगामी दिनमा थप व्यवस्थित बनाउँदै विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
पालिका स्तरमै १५ शैयाको अस्पताल सञ्चालनमा आएपछि भूमिकास्थान नगरपालिकाका नागरिकले आफ्नै क्षेत्रमा सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।





