
टर्की र सिरियाले सुरक्षा तथा क्षेत्रीय मामिलामा द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । टर्कीका विदेशमन्त्री हाकान फिदान र सिरियाली विदेशमन्त्री असाद अल–शैबानीबीच बिहीवार अंकारामा भएको भेटवार्तामा यस्तो सहमति भएको हो ।
संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै टर्कीका विदेशमन्त्री फिदानले टर्की र सिरियाको समृद्धि र स्थिरता एकअर्कासँग अभिन्न रूपमा जोडिएको बताउनु भयो । उहाँले आतंकवाद नियन्त्रण, रक्षा र सुरक्षाका क्षेत्रमा सिरियासँगको सहकार्य र समन्वयलाई टर्कीले अझ गहिरो बनाउने उल्लेख गर्नुभयो ।


विदेशमन्त्री फिदानले सिरियाको एकीकरण प्रक्रियालाई निरन्तरता दिनु टर्कीको प्राथमिकता रहेको बताउँदै भन्नुभयो, ‘क्षेत्रीय स्थिरता र सिरियाको एकताका लागि सबै सशस्त्र बलहरूलाई वैधानिक केन्द्रीय सरकारको संरचनाअन्तर्गत ल्याउनु अपरिहार्य छ ।’

सो अवसरमा सिरियाली विदेशमन्त्री अल–शैबानीले आतंकवाद विरोधी अभियानलाई दुई देशबीचको कूटनीतिको मेरुदण्डको रूपमा चित्रण गर्नुभयो । उहँले अवैध सशस्त्र समूहहरूलाई निरुत्साहित गर्दै राज्यको शक्ति सुदृढ बनाउन सिरियाले आवश्यक कदम चालिरहेको जानकारी दिनुभयो ।
शैबानीका अनुसार दमास्कस र अंकाराबीच सहकार्यलाई थप व्यवस्थित बनाउन ‘उच्चस्तरीय रणनीतिक सहयोग परिषद्’ स्थापना गर्ने विषयमा समेत छलफल भइरहेको छ ।
सिरियाली विदेशमन्त्रीले सिरिया, टर्की, जोर्डन र साउदी अरबलाई जोड्ने प्रश्तावित रेलमार्ग परियोजनाको स्वागत गर्नुभयो । यो परियोजनाले चार देशबीच भौगोलिक, आर्थिक र कूटनीतिक सेतुको रूपमा काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । भेटवार्ताका क्रममा दुवै पक्षले क्षेत्रीय मुद्दाहरूमा छलफल गर्दै अमेरिका र इरानबीचको वार्ता पुनः सुचारु गर्न भइरहेका प्रयासहरूमा आफ्नो समर्थन रहेको जनाएका छन् ।





