युवाको सहभागिताबिना स्थानीय विकास सम्भव छैन:- संयाेजक भुसाल

साउन २७, अर्घाखाँची । “Different contexts, common Aspirations / भिन्न परिवेश, साझा आकांक्षा” भन्ने मूल नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ मनाइँदैछ।
दिवसको अवसरमा भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा सञ्जालका संयोजक टेकराज भुसालले सामाजिक संजालमा शुभकामना व्यक्त गर्दै युवाका सवालमा स्थानीय सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।

दिवसका अवसरमा जारी शुभकामना सन्देशमा संयोजक भुसालले युवा देशको वर्तमान मात्र नभई भविष्य निर्माणका प्रमुख आधार भएको उल्लेख गरेका छन्। युवाको सिर्जनशीलता, ऊर्जा, क्षमता र नेतृत्वलाई सही ढंगले परिचालन गर्न सके स्थानीय तहको विकासदेखि समृद्ध राष्ट्र निर्माणसम्म महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।

उनले युवालाई नीति निर्माण, निर्णय प्रक्रिया, सामाजिक अभियान, उद्यमशीलता, रोजगारी सिर्जना तथा स्थानीय विकासका हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिता गराउनुपर्नेमा जोड दिएका छन्।

युवाका लागि कार्यक्रम, गतिविधि तथा अवसर सिर्जना गर्ने विषयमा स्थानीय सरकारबाट आवश्यक चासो र पहल नहुनु दुःखद तथा चिन्ताजनक विषय भएको भुसालले बताएका छन्। युवाको सहभागिता र नेतृत्वलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीय सरकारले नै युवाका सवालप्रति आवश्यक ध्यान नदिनुले युवाप्रति स्थानीय सरकारको दृष्टिकोणमाथि प्रश्न उठ्नु स्वाभाविक भएको उनको भनाइ छ।

सरकारको उदासीनताका बीच पनि युवाहरू आफ्नो अधिकार, जिम्मेवारी र सामाजिक भूमिकाप्रति सचेत हुँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने उनले बताएका छन्।
युवाका आवाजलाई संगठित गर्दै स्थानीय सरकारलाई युवामैत्री नीति, कार्यक्रम र बजेट निर्माण तथा प्रभावकारी कार्यान्वयनका लागि निरन्तर खबरदारी र सहकार्य गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।

भुसालले अन्तर्राष्ट्रिय युवा दिवसले भूमिकास्थानसँगै देशभरका युवामा नयाँ ऊर्जा, आशा, एकता र सकारात्मक सोचको विकास गराउने विश्वास व्यक्त गरेका छन्। साथै, “युवाको सहभागिता, स्थानीय विकासमा साझेदारी” भन्ने भावनालाई थप बलियो बनाउँदै युवाको क्षमता र नेतृत्वलाई विकासको मूलधारमा जोड्नुपर्नेमा उनले जोड दिएका छन्।