
मुम्बई, २९ साउन। सनी देओल बक्स अफिसमा फेरि एकपटक तहल्का मच्चाउन तयार हुँदैछन्।
यस अभिनेताको बहुप्रतिक्षित चलचित्र ‘बाँटवारा १९४७’ आगामी १४ अगस्टमा हलहरूमा प्रदर्शन हुँदैछ। चलचित्र प्रदर्शनमा आउनु अघि नै यसको पहिलो समीक्षा सार्वजनिक भइसकेको छ। आउनुहोस्, सनी देओलको ‘बाँटवारा १९४७’ कस्तो खालको चलचित्र हो, त्यो जानौँ।्

उल्लेखनीय कुरा के छ भने ‘बाँटवारा १९४७’ सार्वजनिक हुनुअघि चलचित्र निर्माता रमेश तौरानीले निर्माता आमिर खान र अभिनेता अली फजलसँगै यस चलचित्रको विशेष प्रदर्शन हेरेका थिए। उनले आफ्नो प्रारम्भिक प्रतिक्रिया सार्वजनिक गर्दै ‘बाँटवारा १९४७’ लाई हृदयस्पर्शी चलचित्रको रूपमा उच्च प्रशंसा गरेका छन् र यो चलचित्र ‘पहिलो दिन, पहिलो शो’ मै हेर्नुपर्ने बताएका छन्।


इन्स्टाग्राममा आमिर खान र अलीसँगै हलबाट एउटा तस्बिर साझा गर्दै रमेशले लेखेका छन्, ‘बाँटवारा १९४७’ मानवताको वास्तविक रूप उजागर गर्ने अत्यन्त संवेदनशील र हृदयस्पर्शी चलचित्र हो । यो अवश्य हेर्नुपर्ने चलचित्र हो, यसको ुपहिलो दिन, पहिलो शो हेर्नुहोला। विशेष गरी हाम्रो इतिहासका अत्यन्त कठिन समयहरूमा, मानवीय भावनाको शक्ति र करुणाको महत्त्वबारे यो चलचित्रले सशक्त स्मरण गराउँछ।’
उनले चलचित्रका मुख्य कलाकारहरूको अभिनयको पनि उच्च प्रशंसा गर्दै लेखे, ‘सनी देओलले सशक्त र गहिरो प्रभाव पार्ने खालको अभिनय गरेका छन् भने ठूलो पर्दामा प्रीति जिन्टालाई उनको उत्कृष्ट काम मध्येको एकमा देख्न पाउनु सुखद छ। शबाना आजमी, अली फजल र करण देओल, सबैले आ–आफ्नो भूमिकामा उत्कृष्ट काम गरेका छन् र चलचित्रमा गहिराइ, तीव्रता तथा जीवन्तता थपेका छन्। खलनायकको भूमिकामा अभिमन्यु सिंह असाधारण छन् । उनले यस्तो पात्र तयार पारेका छन्, जुन एकैसाथ आकर्षक र निकै विचलित पार्ने खालको छ।’

ती चलचित्र निर्माताले राजकुमार सन्तोषीको निर्देशनको पनि प्रशंसा गर्दै लेखे, ‘दर्शकको मन छुने कथा पुनः प्रस्तुत गरेकोमा राजकुमार सन्तोषीलाई बधाई। आफ्ना चलचित्रमा मानवीयता, भावना र हृदयस्पर्शी पक्षहरू समेट्ने उनको क्षमता साँच्चै विशेष छ।’
उनले अगाडी भने, ‘बाँटवारा १९४७’ सशक्त सन्देश बोकेको र अत्यन्तै उत्कृष्ट ढंगले निर्माण गरिएको चलचित्र हो, जुन अवश्य हेर्नुपर्छ।’

राजकुमार सन्तोषीद्वारा निर्देशित यस चलचित्रमा सनी देओल, प्रीति जिन्टा र शबाना आजमीका साथै अली फजल, करण देओल, अभिमन्यु सिंह, खुसी हजारे र कनिका कपुरको अभिनय रहेको छ। आमिर खान प्रोडक्सन्सद्वारा निर्मित यो चलचित्र बक्स अफिसमा इमरान हासमीको ‘आवारापन २’ सँग भिड्नेछ।




