बाढी प्रभावितको उपचार र व्यवस्थापनमा काठमाडौं महानगरको सक्रियता

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई अस्पताल भर्ना भएका बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । कार्यवाहक प्रमुख डंगोलले त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) र राष्ट्रिय ट्रमा सेन्टर पुगेर घाइते तथा उनीहरूका आफन्तसँग भेटघाट गर्नुभएको हो ।

निरीक्षणका क्रममा उहाँले शिक्षण अस्पतालको ‘येल्लो जोन’ र आईसीयूमा उपचाररत बिरामीहरूको अवस्था बुझ्नुका साथै अस्पताल प्रशासनसँग आवश्यक समन्वयबारे छलफल गर्नुभयो ।

सो अवसरमा उहाँले काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको समन्वयमा शिक्षण अस्पतालमा सञ्चालित बेपत्ता व्यक्तिहरूको विवरण संकलन एवं सम्पर्क केन्द्रको समेत अवलोकन गर्नुभयो ।

अस्पतालका अधिकारीहरूसँगको छलफलमा शिक्षण अस्पतालले आकस्मिक कक्षमा प्रयोग हुने औषधिहरूको मौज्दात न्युन हुँदै गएको र तत्काल सहयोगको आवश्यकता रहेको जानकारी गराएको थियो । अस्पतालको मागप्रति सकारात्मक रहँदै कार्यवाहक प्रमुख डंगोलले औषधिको आपूर्तिमा महानगरले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।