अर्घाखाँचीमा विश्व रेबिज दिवसको सप्ताहव्यापी अभियान सुरु, विभिन्न स्थानमा कुकुरलाई खोप लगाइँदै

-केशव पन्थी, अर्घाखाँची ।

 अर्घाखाँची । विश्व रेबिज दिवसको अवसरमा अर्घाखाँचीमा रेबिज रोग नियन्त्रण तथा रोकथामका लागि सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँची र सन्धिखर्क नगरपालिकाको संयुक्त आयोजनामा सुरु गरिएको अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा घरपालुवा, सार्वजनिक तथा सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने तथा नागरिकमा रेबिज रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने भएको हो।

आजदेखि असोज १२ गतेसम्म सञ्चालन हुने अभियानमार्फत कुकुरमा समयमै रेबिजविरुद्धको खोप लगाउने बानीको विकास गराउँदै मानिस तथा पशुमा रेबिज संक्रमणको जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका प्रमुख डा. प्रवेशसिंह कुँवरका अनुसार अभियानअन्तर्गत घरमा पालिएका कुकुरसँगै सार्वजनिक तथा सामुदायिक कुकुरलाई समेत रेबिजविरुद्धको खोप लगाइनेछ।

रेबिज नियन्त्रणका लागि कुकुरलाई समयमै खोप लगाउनु महत्वपूर्ण हुने बताउँदै डा. कुँवरले अभियानलाई जिल्लाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार कुकुर तथा अन्य जनावरमा रेबिजको जोखिम कम गर्न नियमित खोपसँगै समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न आवश्यक छ।

May be an image of slow loris and text

त्यस्तै, सन्धिखर्क नगरपालिकामा कार्यरत पशु चिकित्सक डा. नवीन पन्थीका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा पुगेर कुकुरलाई रेबिजविरुद्धको खोप लगाउनुका साथै रेबिज रोगको जोखिम, रोकथाम तथा खोपको महत्वबारे नागरिकलाई जानकारी गराइनेछ।

कुकुरको टोकाइबाट मानिसमा रेबिज सर्न सक्ने भएकाले घरपालुवा जनावर पाल्ने नागरिकले नियमित रूपमा खोप लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो। सार्वजनिक तथा सडकमा रहेका कुकुरको समेत पहिचान गरी सम्भव भएसम्म खोप लगाउने व्यवस्था मिलाइने उहाँले बताउनुभयो।

अभियानका क्रममा कुकुर पाल्ने नागरिकलाई आफ्ना कुकुरलाई नियमित रूपमा रेबिजविरुद्धको खोप लगाउन प्रेरित गरिनेछ। साथै, रेबिजको जोखिमबाट बच्न अपनाउनुपर्ने सावधानी तथा जनावरले टोकेमा तत्काल स्वास्थ्य संस्थामा पुगेर आवश्यक उपचार तथा खोप लिनुपर्नेबारे समेत जानकारी गराइनेछ।

images

May be an image of animal and text

रेबिज भाइरसबाट लाग्ने गम्भीर तथा प्राणघातक रोग हो। संक्रमित जनावरको टोकाइ वा ¥यालको सम्पर्कबाट मानिस तथा अन्य जनावरमा रेबिज सर्न सक्छ। विशेषगरी कुकुरबाट मानिसमा रेबिज संक्रमणको जोखिम हुने भएकाले कुकुरलाई नियमित रूपमा रेबिजविरुद्धको खोप लगाउनु रोग नियन्त्रणको महत्वपूर्ण उपाय मानिन्छ।

images

अभियानको सुरुवात भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीबाट गरिएको हो। सुरुवाती कार्यक्रममा कार्यालय प्रमुख डा. प्रवेशसिंह कुँवरसहित कार्यालयका कर्मचारी तथा सेवाग्राहीहरूको उपस्थिति रहेको थियो।

विश्व रेबिज दिवस हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइन्छ। रेबिज रोगबारे जनचेतना फैलाउने, रोगको जोखिम तथा रोकथामका उपायबारे जानकारी गराउने र जनावरलाई रेबिजविरुद्धको खोप लगाउन प्रोत्साहित गर्ने उद्देश्यले दिवसको अवसरमा विश्वभर विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

images

अर्घाखाँचीमा पनि दिवसलाई केन्द्रित गरी सञ्चालन गरिएको सप्ताहव्यापी अभियानले कुकुरलाई नियमित रूपमा रेबिजविरुद्धको खोप लगाउने संस्कारको विकास गर्नुका साथै समुदायमा रेबिज रोगसम्बन्धी सचेतना बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अभियानका क्रममा जिल्लाका विभिन्न स्थानमा पुगेर कुकुरलाई खोप लगाउने तथा नागरिकलाई रेबिजबाट बच्ने उपायबारे जानकारी गराइने आयोजकले जनाएको छ।

May be an image of hospital and text

Nepal life insurance

 तस्बिर : केशव पन्थी, अर्घाखाँची डटकम्
🌐 Arghakhanchi.com