जापानमा समुद्री आँधीका कारण मृत्यु हुनेको संख्या ९ पुग्यो, ४ अझै बेपत्ता

जापानको पूर्वी क्षेत्रमा आएको भीषण समुन्द्री आँधीका कारण मृत्यु हुनेको संख्या बुधवारसम्म ९ पुगेको छ । आँधीपछि आएको बाढी र पहिरोमा परी चारजना अझै बेपत्ता छन् भने सयौँ भौतिक संरचनामा क्षति पुगेको छ । जापानको कान्तो क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आएको ‘डुजुआन’ आँधीले सोमवारदेखि नै जनजीवन अस्तव्यस्त पारेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सबैभन्दा बढी क्षति चिबा र कानागावा प्रिफेक्चरमा देखिएको छ । मृत्यु हुनेमध्ये ६ जना चिबाका र ३ जना कानागावाका बासिन्दा हुन् ।

चिबामा माटो र लेदो पन्छाउने क्रममा भारी मेसिन चलाउँदा लडेर एक ५० वर्षीय पुरुषको मृत्यु भएको छ भने एकजनाको डुबेको सवारी साधनभित्र शव फेला परेको थियो । कानागावामा घरमाथि खसेको पहिरोमा परी ६० वर्षीया महिलासहित तीनजनाको ज्यान गएको छ ।

आँधीका कारण ५०० भन्दा बढी घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् वा बाढीले डुबानमा परेका छन् ।

बुधवार बिहानसम्म पनि चिबा र कानागावाका करिव २४ हजार ७ सय घरधुरी विद्युत सेवाबाट वञ्चित रहेका सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ।्ल्लहाल आँधी पूर्वी प्रशान्त तट हुँदै अघि बढिसकेको छ । यद्यपि, बाढी र पहिरोको जोखिम कायमै रहेको भन्दै प्रशासनले उच्च शतर्कता अपनाउन आग्रह गरेको छ । प्रहरी र दमकलकर्मीहरूले बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन् ।