यमनको ताइजमा सरकारी फौज र हुथी विद्रोहीबीच भीषण भिडन्त, १६ को मृत्यु

यमनको दक्षिण–पश्चिमी प्रान्त ताइजमा सरकारी सुरक्षा फौज र हुथी विद्रोही समूहबीच भएको पछिल्लो भीषण भिडन्तमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । मंगलबारबाट शुरु भएको उक्त संघर्षले रणनीतिक महत्वका क्षेत्रहरूमा नियन्त्रण जमाउने दुवै पक्षको महत्वाकांक्षालाई पुनः सतहमा ल्याएको छ ।

सरकारी अधिकारी अब्दुलअजिज अल–शैबानीकाअनुसार ताइजको पश्चिमी क्षेत्रस्थित अश शमायायन जिल्लामा हुथी विद्रोहीले गरेको आक्रमणलाई सरकारी फौजले विफल पारेको छ ।

उक्त प्रति–आक्रमणका क्रममा १२ जना हुथी लडाकु मारिएका छन् भने दुई जनालाई नियन्त्रणमा लिइएको छ । सोही झडपमा परी चार जना सरकारी सैनिकले पनि ज्यान गुमाएका छन् । सरकारी सुरक्षा फौजका प्रवक्ता माजिद अल–नुजैलीले रेड सी बन्दरगाह शहर मोखा र मध्य प्रान्त अल–बैदामा सरकारी सेनाले हुथी विद्रोहीका सैन्य अखडा र उपकरण लक्षित हवाई आक्रमण गरेको जानकारी दिएका छन् ।

यद्यपि, हुथी विद्रोही समूहले भने सरकारी दाबीलाई खण्डन गर्दै पछिल्ला दिनहरूमा पश्चिमी तटीय क्षेत्रमा गरिएको सैन्य कारबाहीमा ६०० भन्दा बढी सरकारी सैनिक हताहत भएको र ठूलो मात्रामा हतियार बरामद गरेको दाबी गरेको छ ।

यो द्वन्द्वको मुख्य चुरो रेड सी र गल्फ अफ एडेनलाई जोड्ने रणनीतिक महत्वको ‘बाव अल–मन्देब’ जलमार्ग हो । अन्तर्राष्ट्रिय सामुद्रिक व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने यो क्षेत्रको उच्च पहाडी भूभागमा नियन्त्रण कायम गर्न दुवै पक्ष लागिपरेका छन् । सेप्टेम्बरको सुरुवातदेखि यमनको पश्चिमी तटमा भइरहेको यो सैन्य बढोत्तरीले यस क्षेत्रमा शान्ति स्थापनाको प्रयासलाई थप जटिल बनाएको छ ।