पूर्व मुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गर्न प्रहरीले अनुमति लिएको छ । सीआईबीले अदालतबाट प्रक्राउ अनुमति लिएको हो ।

मलेसिया जाने श्रमिकमाथि भएको ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीमाथि पक्राउ पुर्जी जारी भएको बताइएको छ । सोही प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।

सीआईबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर, अर्का तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव बिनोद के.सी., मन्त्रालयको तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख उमेश ढुङ्गाना, सह–सचिव राजिव पोखरेल र रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन कानुन अधिकृत (उप–सचिव) निर्मला गुरुङलाई विहिबार पक्राउ गरेको हो ।

उनीहरुलाई नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारी विपरीत गैरकानुनी रूपमा श्रमिकसँग ठगी गरी संकलन गरिएको ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०.८० पाउण्ड स्टर्लिङगरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ६६ पैसा मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता देखिएको छ ।