
काठमाडौं, ३ मंसिर । एमाले राष्ट्रिय भेला २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित गर्दै सम्पन्न भएको छ ।
बिहीबार सम्पन्न भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको वापसीका लागि आन्दोलनको तयारी गर्ने संकल्प पनि गरेको छ । बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले अध्यक्ष केपी ओलीले भेलाको उद्घाटन गरेका थिए ।

भेलामा अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ का सम्बन्धमा, वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने संकल्प गरौं’ विषयमा, उपाध्यक्ष रामबहादुर थापा बादल’ ले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि संकल्प गरौं’ विषयमा, उपाध्यक्ष विष्णु पौडेलले ‘एमालेले देश र जनताको पक्षमा गरेका महत्वपूर्ण कार्यहरू’ सम्बन्धमा र महासचिव शंकर पोखरेलले ‘पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी’ सम्बन्धी प्रशिक्षणमूलक सम्बोधन गरेका थिए ।


राष्ट्रिय भेलामा देशभर र प्रवासबाट तीन हजार ४१४ जना प्रतिनिधिहरु सहभागी थिए ।
एमालेले बालेन्द्र सरकारको आठ महिना राजनीतिक प्रतिशोध, मौलिक अधिकार हनन, संवैधानिक संस्थाहरुको मानमर्दन, राज्य संयन्त्रमाथि नग्न हस्तक्षेप र स्वेच्छाचारी एवं अनुत्तरदायी शासनका रुपमा बितेको ठहर गरेको छ ।

प्रधानमन्त्रीले शपथ खाएको केही घण्टा नबित्दै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीलाई रातारात गरिएको गिरफ्तारी एवं लगाउन खोजिएको झुठ्ठा मुद्दा राजनीतिक प्रतिशोधको पराकाष्टा रहेको भन्दै एमालेले त्यसपछि पनि यो शृङ्खला नरोकिएको भन्दै निन्दा गरेको छ ।

यस्ताे छ एमाले भेलाले पारित गरेका २१ बुँदे प्रस्ताव
नेकपा (एमाले) को राष्ट्रिय भेला २०८३ मङ्सिर २-३ गते कार्की बैंक्वेट काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको भेलाले २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गरेको छ ।

भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारीका साथै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको वापसीका लागि आन्दोलनको तयारी गर्ने सङ्कल्प गरेको छ ।
भेलामा अध्यक्ष कमरेड केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’का सम्बन्धमा, वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौं’ विषयमा, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गरौं’ विषयमा, उपाध्यक्ष विष्णु पौडेलले ‘एमालेले देश र जनताको पक्षमा गरेका महत्वपूर्ण कार्यहरू’ सम्बन्धमा र महासचिव शंकर पोखरेलले ‘पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी’ सम्बन्धी प्रशिक्षणमूलक सम्बोधन गर्नुभएको थियो ।


अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ बारे सहभागीहरुलाई मार्गनिर्देशको क्रममा पार्टीले बेहोरेको धक्का चुनावी परिणामबाट मात्र नभई सरकार अपदस्त गरेदेखि सुरु भएको बताउनुभयो । लोकतन्त्रको वापसीका लागि जनता पुनर्जागरणको नेतृत्व एमालेले गर्ने अध्यक्षले बताउनुभयो । भदौ २३ र २४ को घटना र हामी माथिको घेराबन्दी बुझेनौं भने राजनीति बिर्सिएको हुने उहाँले बताउनुभयो । पुनर्जागरणको लागि सबै जागृत भएर प्रतिबद्धता र सङ्कल्पका साथ जनताका बिचमा जान अगुवा कार्यकर्तालाई अध्यक्ष ओलीले निर्देश गर्नुभयो ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नाराका साथ सुरु भएको राष्ट्रिय भेलामा देशभर र प्रवासबाट तीन हजार ४१४ जना प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । राष्ट्रिय भेलामा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष, जनसंगठन, केन्द्रीय निकाय, संघीय र प्रदेशका सांसदहरु, स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।
भेलाको उद्घाटन र बन्दसत्रको सञ्चालन सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकाल र स्वागत सचिव पद्मा अर्यालले गर्नुभएको थियो । भेलामा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव र सङ्कल्प प्रस्तुत गर्नुभएको थियो ।


भेलाद्वारा पारित सङ्कल्प र समसामयिक प्रस्ताव देहायबमोजिम रहेको छ:
विशेष प्रस्तावहरू
श्रद्धाञ्जली, समवेदना तथा स्वास्थ्यलाभको कामना
१. यो भेला राष्ट्रियता, लोकतन्त्र र सामाजिक परिवर्तनको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने प्रातः स्मरणीय शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुले उठाउनु भएको गौरवपूर्ण झण्डालाई कहिल्यै झुक्न नदिने सङ्कल्प गर्दछ । यो भेला पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र प्रथम जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारी सहित कम्युनिष्ट आन्दोलनका अग्रज र मार्गदर्शकहरुप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँहरुका आदर्शलाई निरन्तर पछ्याइरहने अठोट व्यक्त गर्दछ ।
जस्तासुकै प्रतिकूलताका बिचमा पनि कम्युनिष्ट आन्दोलनलाई साथ, सहयोग र स्नेह प्रदान गर्ने नेपाली जनताप्रति यो भेला आभार व्यक्त गर्दछ ।
२. यो भेला संविधानसभा सदस्य एवं रसुवा जिल्ला कमिटीका पूर्व अध्यक्ष कमरेड छोवाङ तेञ्जिङ तामाङ, झापा आन्दोलनका योद्धा, पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद कमरेड घनेन्द्र बस्नेत, पार्टीका पूर्व केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य डा. विजय पौडेल, भोजपुरका पार्टी नेता कमरेड रामसिँह राई, केन्द्रीय सल्लाहकार एवं लुम्बिनी प्रदेशसभाका पूर्व सदस्य बाबुराम गौतम, संखुवासभा जिल्ला कमिटीका पूर्व अध्यक्ष जीतबहादुर घिमिरे एवं अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य रमेश बिडारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

३. केन्द्रीय कमिटीको तेस्रो बैठक यता कतिपय कमरेडहरु पारिवारिक वियोगमा पर्नुभएको छ । मातृशोकमा पर्नुभएका केन्द्रीय सदस्य आनन्द पोखरेल, नवीन रोका र मो. इस्तियाक राइ, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेल, पारिवारिक शोकमा पर्नुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं केन्द्रीय सदस्य चेतनारायण आचार्य, सासु वियोगमा पर्नुभएका मञ्जु चालिसे, हजुरआमाको शोकमा पर्नुभएको उषाकला राई र पारिवारिक शोकमा पर्नुभएका डडेल्धुरा जिल्ला अध्यक्ष गजेन्द्र शाही लगायत कमरेडहरुप्रति समवेदना व्यक्त गर्दै यो भेला दिवंगत श्रद्धेयजनमा श्रद्धाञ्जली अर्पण गर्दछ ।
४. उपचार र उपचारपछि स्वास्थ्यलाभको प्रक्रियामा रहनु भएका पार्टीका निवर्तमान उपाध्यक्ष कमरेड अष्टलक्ष्मी शाक्य, पार्टीका निवर्तमान वरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलकी पत्नी एवं संविधानसभा सदस्य कमरेड मीरा ध्वजु तथा केन्द्रीय सदस्य कमरेड भूमिश्वर ढकालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
लोकतन्त्र, जनजीविका र राष्ट्रियता
५. बालेन्द्र सरकारको ८ महिना राजनीतिक प्रतिशोध, मौलिक अधिकार हनन, संवैधानिक संस्थाहरुको मानमर्दन, राज्यसंयन्त्रमाथि नग्न हस्तक्षेप र स्वेच्छाचारी एवं अनुत्तरदायी शासनका रुपमा बितेका छन् । प्रधानमन्त्रीले शपथ खाएको केही घण्टा नबित्दै पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रातारात गरिएको गिरफ्तारी एवं लगाउन खोजिएको झुठ्ठा मुद्दा राजनीतिक प्रतिशोधको पराकाष्टा थियो । त्यसपछि पनि यो शृङ्खला रोकिएको छैन । यस बिचमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल लगायत विभिन्न राजनीतिक दलका नेताहरुलाई अपमानपूर्वक गिरफ्तार गरियो । कतिपय प्रतिष्ठित व्यवसायीहरुलाई बिना कसुर समात्ने र तर्साउने काम गरिएको छ । संवैधानिक अङ्गका पदाधिकारीहरुलाई प्रधानमन्त्री कार्यालयमा घण्टौँ बन्धक राखेर आतङ्कित पारिएको छ । राष्ट्रसेवक कर्मचारीहरुलाई धम्काउँदै बदनियतपूर्ण निर्णयहरु गराइएको छ । सञ्चारगृहहरुका समाचार कक्षमा प्रहरीहरु अनधिकृत प्रवेश गर्ने, पत्रकारहरुलाई गिरफ्तार गर्ने र कन्टेन्ट निर्माता एवं अभियन्ताहरुलाई तर्साउने काम भइरहेको छ । विज्ञापनको स्रोत बन्द गरेर स्वतन्त्र मिडियालाई निस्तेज पार्न खोजिएको छ । ट्रेड युनियनहरु तथा स्ववियुमाथि संविधानको बर्खिलाफ लगाइएको बन्देज कायमै छ । यो भेला सरकारका यस्ता अलोकतान्त्रिक, स्वेच्छाचारी र निरङ्कुश कदमको भर्त्सना गर्दछ ।

६. २०८२ भदौ २३-२४ को घटना पछाडिका अनेकौँ षडयन्त्रहरुको पर्दा क्रमशः खुल्दै गएको छ । तर सरकार उक्त घटनाको छानबिनका प्रतिवेदनहरु लुकाउने, राज्य विध्वंशमा सङ्लग्नहरुको संरक्षण गर्ने र राजनीतिक नेतृत्व विरुद्ध भने बदनियतका साथ फरेबपूर्ण मुद्दा र दुष्प्रचार चलाउँदै यथार्थलाई लुकाउने धृष्टता गरिरहेको छ । यो भेला सरकारका यस्ता क्रियाकलापको भर्त्सना गर्दछ र भदौ २३-२४ को घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठनको माग गर्दछ ।
७. सरकारले प्रारम्भदेखि नै संविधान, संवैधानिक संस्थाहरु र सङ्घीयताप्रति वक्रदृष्टि राख्दै आएको छ । सरकारले गठन गरेको कथित कार्यदलले संविधानका २४५ वटा धाराहरु संशोधन गर्न दिएको सुझाव र ‘सङ्ख्या पुगेको दिन प्रदेश खारेज गर्ने’ मन्त्रीहरुको घोषणाले यो सरकार वस्तुतः संविधानका आधारस्तम्भ नै भत्काउन उद्दत छ भन्ने स्पष्ट देखिन्छ । राष्ट्रपति संस्था, संसद, राजनीतिक दल, संवैधानिक अङ्ग, निजामति र सुरक्षा अङ्गहरुको निरन्तर मानमर्दन भइरहेको छ । यो सरकार महाअभियोग, झुठ्ठा मुद्दा र कार्बाहीको सन्त्रास देखाएर कानुनसम्मत् कत्र्तव्य पालना गर्नु पर्ने राज्यका निकायहरुलाई आफ्ना स्वार्थको सेवा गर्ने ‘आज्ञापालक’को रुपमा बदल्न चाहन्छ । कानुनले मान्यता दिएका, शपथ खाएका वैधानिक संस्थाहरुमार्फत् होइन, अदृश्य, अनधिकृत र शङ्कास्पद समूह एवं विचौलियाहरु मार्फत् राज्यका संवेदनशील सूचना, महत्वपूर्ण निर्णय र पासपोर्ट, सुनकोशी-मरिन डाइभर्सन जस्ता ठुला आर्थिक कारोबारमा हस्तक्षेप भइरहेको छ । यो भेला सरकारका यस्ता क्रियाकलापप्रति गम्भीर आपत्ति प्रकट गर्छ ।
८. सुकुम्बासी बस्तीमा डोजर चलाउँदै गरिएको निर्मम दमन र अमानवीय ढङ्गले गरिएको सुकुम्बासी विस्थापनको सात महिना बितेको छ । यस क्रममा पाँच जना सुकुम्बासीहरुले आत्महत्या समेत गरेका छन् । तर अझै सुकुम्बासीहरुको व्यवस्थापन भएको छैन । यस अवधिमा नागरिकले खाना पकाउने ग्यासको हाहाकार भोग्नु पर्यो । विकराल बन्दै गएको महङ्गी र अन्धाधुन्ध बढाइएको करले नागरिक आक्रान्त छन् । दैनिक जसो भइरहेका आत्मदाह, आत्महत्या र प्रवासिने युवाहरुको सङ्ख्याले समाजमा निराशा बढ्दै गएको स्पष्ट सङ्केत गर्छन् । व्यवसायीहरु इतिहासमै सबैभन्दा बढी मनोबल खस्किएको अवस्थामा छन् । लगानी सङ्कुचित हुँदै गइरहेको छ । तर सरकार यी समस्याप्रति पूरै संवेदनहीन देखिएको छ ।
नेकपा (एमाले) जनताका यस पीडाप्रति सम-अनुभूति व्यक्त गर्दछ । महङ्गी नियन्त्रण गर्न र घरायशी प्रयोगको विद्युत्मा लगाइएको कर फिर्ता लिन माग गर्दछ । गतः वर्ष सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय र नेताहरुको निजी सम्पत्ति तथा व्यवसायिक प्रतिष्ठानमा गरिएको विध्वंश र आगजनीमा सङ्लग्न दोषीहरुलाई अविलम्ब कार्बाहीको दायरामा ल्याउन, व्यवसायीहरुलाई त्रसित पार्ने क्रियाकलाप तत्काल बन्द गर्न र अनुकूल व्यवसायिक वातावरण निर्माण गर्न ध्यानाकर्षण गर्दछ ।
९. गतः वर्ष भदौका विध्वंश र त्यसपछि विकसित घटनाक्रमसँगै नेपालको राष्ट्रिय हित विरुद्धका गतिविधि बढेका छन् । छिमेकी मित्र राष्ट्रहरुका संवेदनशीलतामाथि निरन्तर आँच पुर्याउने काम भइरहेको छ । प्रधानमन्त्रीले संसदको मञ्चबाट दिएको सीमा सम्बन्धी गैरजिम्मेवार र आत्मघाती अभिव्यक्ति अझै सच्याइएको छैन । छिमेकी मित्र राष्ट्रहरुसँग इतिहासदेखि नै थाती रहेका कतिपय मुद्दाहरुलाई गंभीर कुटनीतिक पहल मार्फत् राष्ट्रको हितमा समाधान गर्नु पर्नेमा सरकार ‘इतिहासको भारी नबोक्ने’ शङ्कास्पद अभिव्यक्ति दिइरहेको छ । ‘दक्षिण एसियाली मुन्रो डक्ट्रिनलाई नेपालले बुझिदिनु पर्ने’ घातक मान्यताका पक्षधर कतिपय मन्त्रीहरु राष्ट्रवादको अपव्याख्या गरिरहेका छन् । नेपाली जनताले लामो समयदेखि गर्दै आएको राष्ट्रिय हितका निम्तिको सङ्घर्षलाई अपमान गरिरहेका छन् । सरकारको निषेधकारी र मुठभेड निम्त्याउने गतिविधि, विभिन्न तत्वहरुले दुरुत्साहन गरिरहेको साम्प्रदायिक विद्वेष, बढ्दो आर्थिक सङ्कट, सुरक्षा निकायमा बढ्दो हस्तक्षेप र बढ्दो भूराजनीतिक चलखेलले आन्तरिक सुरक्षामा गंभीर जोखिम पैदा गरिरहेको छ । यसले राष्ट्रिय सुरक्षा, हित, प्राकृतिक स्रोतको रक्षा र स्वाभिमानको संरक्षणको प्रश्न अझ संवेदनशील बनेको छ । मुलुकको छवि धूमिल र अविश्वसनीय बन्दै गएको छ ।
नेकपा (एमाले) राष्ट्रिय हित र स्वाभिमानसँग जोडिएका प्रश्नहरुमा अत्यन्त संवेदनशील छ, सूक्ष्म निगरानी गरिरहेको छ र राष्ट्रिय हितका लागि निरन्तर लागिरहने सङ्कल्प गर्दछ ।
१०. यस्तै पृष्ठभूमिमा हुन लागिरहेको प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा यो भेला सरकारको ध्यानाकर्षण गर्दछ –भ्रमण नेपालको राष्ट्रिय हितमा केन्द्रित हुनुपर्छ । नेपालले आफ्ना सरोकार, हित र समस्याका विषयहरु स्पष्ट र खुलाखुलस्त ढङ्गले राख्नुपर्छ । सीमा समस्या, असमान सन्धी, प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन, विषम वाणिज्य प्रबन्ध, बढ्दो व्यापार घाटा, हवाई प्रवेश बिन्दुमा गरिएको असहयोग, दशकौँदेखि ‘होल्ड‘ गरिएका परियोजनाहरुको कार्यान्वयन जस्ता मुद्दाहरुलाई ‘इतिहासको बोझ’ ठानेर पञ्छाउने होइन, तिनको समाधानको स्पष्ट र समयतालिका सहितको मार्गचित्र तय गरिनु पर्छ । नेपाल-भारत सम्बन्ध सार्वभौम समानता, पारस्परिक लाभ र सम्मानमा आधारित हुनुपर्छ ।

बाढी पीडितहरूको पुनर्स्थापना, पुनर्निर्माण तथा सडक सुरक्षा
११. गतः २०८३ भाद्र १० गते (२०२६ अगस्त २६) का दिन भोटेकोशीमा आएको विनाशकारी बाढीबाट राष्ट्रले अकल्पनीय क्षति ब्यहोर्नु परेको छ । बाढीले १,४५१ नागरिकको ज्यान लिएको छ, ५,७४५ भन्दा बढी बेपत्ताहरु जीवित भेटिने संभावना समाप्त भएको छ र सयौँ घाइते हुनुभएको छ । बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष प्रतिमा लामा तामाङ सहित विभिन्न जनप्रतिनिधिहरु, जलविद्युत आयोजनाहरुमा कार्यरत सयौं प्राविधिक जनशक्ति, सयभन्दा बढी सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीहरु एवं सयौं विदेशी पर्यटकहरुको ज्यान लिएको छ । बाढीले लामो इतिहास बोकेको भोटेकोशी–त्रिशुली करिडोर र त्यसमा विकसित हुँदै गरेको जीवन्त अर्थतन्त्रलाई ध्वस्त गराउँदै कुल गार्हस्थ उत्पादनमा झण्डै १० प्रतिशत क्षति पु¥याएको छ । यो भेला भोटेकोशी बाढी र त्यसपछि आएको बुढीगण्डकी एवं कालीगण्डकी बाढीले निम्त्याएको जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ । त्यस विपत्तिमा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
१२. विपत्तिको त्यस घडीमा सरकारको भूमिका भने अव्यवस्थित र निष्प्रभावी मात्र होइन, गैरजिम्मेवार समेत देखिएको छ । सरकारले प्रदेश र स्थानीय सरकारलाई वेवास्ता गर्यो । राजनीतिक पार्टीहरुसँग संवाद र समन्वयलाई अस्वीकार गर्यो । सुरुङमा फँसेका सयौँ प्राविधिक जनशक्तिलाई उद्धार गर्न समयमै विदेशी प्राविधिक सहायता लिने विषयमा लापर्बाही गरेर उहाँहरुको जीवन रक्षाको संभावनामा संवेदनहीन बन्यो । तीन महिना बित्न लाग्दा समेत पीडितहरुको पुनर्स्थापनामा सरकार पूरै लापर्बाह देखिएको छ । एकातिर राहत कोषमा १८ अर्बभन्दा बढी रकम थुप्रिएको छ, तर पीडितहरु न्यूनतम सुविधाबाट पनि बञ्चित छन् । प्राकृतिक विपत्तिबाट पीडित नागरिकहरुप्रति सरकारको यस्तो वेवास्ता र गैरजिम्मेवार व्यवहारप्रति यो भेलाको गम्भीर ध्यानाकर्षण भएको छ । भेला पीडितहरुको तत्काल दिगो पुनर्स्थापनाका लागि प्रभावकारी कदम चाल्न माग गर्दछ । बाढी प्रभावित बालबालिका, गर्भवती र सुत्केरीहरु, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको समस्यालाई प्राथमिकता र संवेदनशीलताका साथ समाधान गर्न माग गर्दछ । ध्वस्त भएका पुल र सडकहरुको तत्काल मर्मत संभार गर्दै धादिङ सदरमुकाम लगायत यातायात सम्पर्क विच्छेद भएका वस्तीलाई जोड्न माग गर्दछ । वैज्ञानिक अध्ययनका आधारमा तत्काल वस्तीहरुको पुनर्निर्माण थाल्न ध्यानाकर्षण गर्दछ ।
१३. भोटेकोशी बाढीबाट भएको विनाश जलवायु परिवर्तनका कारण सिर्जित हो । यसका पछाडि विकसित देशहरुले २ सय वर्षदेखि गर्दै आएको अन्धाधुन्ध औद्योगीकरण, प्राकृतिक स्रोतको अनियन्त्रित दोहन र वातावरण विनास जिम्मेवार छ । आफ्नो १७ प्रतिशत हिमाच्छादित भूभागबाट विश्वको तापमान सन्तुलनमा अतुलनीय भूमिका खेलेको, ४४ प्रतिशतभन्दा बढी वनक्षेत्र मार्फत् कार्बन अवशोषणमा ठुलो योगदान गरिरहेको र हरितगृह ग्यास उत्सर्जनमा शून्यप्रायः भूमिका रहेको नेपालले जलवायु परिवर्तन सिर्जित यस्तो विपत्ति व्यहोर्न पर्नु अन्यायपूर्ण छ । विडम्बना, हालै टर्किएको अन्त्याल्यामा भएको कोप–३१ मा हिमालय क्षेत्रको जलवायु जोखिमलाई सरकारले एजेण्डा बनाउन प्रभावकारी कुटनीतिक भूमिका खेल्न सकेन । सम्मेलनमा मन्त्री र सांसदहरुको भीड ‘जलवायु पर्यटन’ मा सीमित भएको देखियो । पार्टी यस स्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दछ । जलवायु सङ्कटको सामना र जलवायु न्यायका लागि निरन्तर सङ्घर्षरत रहने संकल्प गर्दछ ।
१४. यसै साता मकवानपुरको भीमफेदी लगायत मुगु र बझाङमा भयावह सवारी दुर्घटनाहरु भए । आज भीमफेदीमा फेरि अर्को सवारी दुर्घटना भएको छ । पोखरा-२८ मा भएको सवारी दुर्घटनामा विद्यालयका विद्यार्थीहरुको मृत्यु भएको छ । यो भेला यी लगायत विभिन्न सवारी दुर्घटनामा ज्यान गुमाउनु हुनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । निरन्तर बढ्दो सडक दुर्घटना न्यून गर्नका लागि अनुगमन कार्यलाई प्रभावकारी बनाउन, सडकहरुलाई स्तरोन्नति गर्न, सवारीसाधनको गुणस्तर र चालकहरुको सिप तथा अनुशासन कायम गर्न माग गर्दछ । दोषीहरुलाई कार्बाही गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन यो भेला सम्बद्ध निकायको ध्यानाकर्षण गर्दछ ।
संविधान र लोकतन्त्र रक्षाका लागि सहकार्य
१५. प्रतिकूल बन्दै गरेको यस परिस्थितिमा राष्ट्रिय हितको संरक्षण, लोकतन्त्र र संविधानको रक्षा एवं जन सरोकारका विषयमा सार्थक संवाद, सहकार्य र जनदबाबका लागि नेकपा (एमाले) सबै देशभक्त, लोकतन्त्र र संविधानका पक्षधर राजनीतिक दल, सचेत नागरिकहरु एवं बौद्धिक समुदायमा आह्वान गर्दछ ।
विश्व शान्ति र ऐक्यबद्धता
१६. शक्तिशालीले जे गरे पनि वैध हुन्छ भन्ने मध्ययुगीन मान्यताको आधारमा आज विभिन्न राष्ट्रहरुमाथि शक्ति राष्ट्रले गरिरहेको हस्तक्षेप, आक्रमण र अवैधानिक सत्ता परिवर्तनका घटनाले विश्व शान्ति, संयुक्त राष्ट्र सङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र मानव सभ्यताकै उपहास गरिरहेको छ । यो भेला प्यालेस्टाइन, इरान, क्युबा, भेनेज्वेला, लेबनान, युक्रेन लगायत मुलुकमा भइरहेको वाह्य हस्तक्षेप, नाकाबन्दी र आक्रमणको निन्दा गर्दछ । प्यालेस्टाइनी जनताको स्वतन्त्र राज्यको मागको समर्थन गर्दछ । म्यान्मारमा लोकतन्त्र पुनर्बहालीको माग गर्दछ ।
१७. यसै सन्दर्भमा चीनको सेञ्जेनमा भइरहेको चीन, अमेरिका र रुसका राष्ट्रपतिहरुको त्रिपक्षीय बैठक आणविक हतियारको प्रतिष्पर्धालाई न्यून गर्न, विश्वका विभिन्न भूभागमा भइरहेका युद्ध, आक्रमण र तनावलाई न्यूनीकरण गर्न र नियम आधारित विश्व व्यवस्था स्थापित गर्न सहायक सिद्ध हुन सकोस् भन्ने यो भेला कामना गर्दछ ।
१८. आज युरोपका विभिन्न मुलुकहरु र अमेरिकामा बढ्दो महङ्गी, आवासको अभाव, महङ्गो शिक्षा प्रणाली र सामाजिक सुरक्षामा कटौती जस्ता विषयलाई लिएर जनप्रदर्शनहरु भइरहेका छन् । विद्यार्थी, युवा र ट्रेड युनियनहरुको अगुवाइमा सञ्चालित उक्त आन्दोलनहरुले पुँजीवादी सामाजिक आर्थिक संरचनाको जगै हल्लाइदिएका छन् । यथार्थमा यी घटनाहरु मुठ्ठीभर अर्बपतिहरु उत्पादन गर्ने, संभ्रान्तहरुलाई पोस्ने र जनताका आधारभूत आवश्यकतालाई वेवास्ता गर्ने पुँजीवादी अर्थ-राजनीतिक प्रणालीकै असफलताको दृष्टान्त हुन् । पुँजीवादको यस असफलताले समाजवादको औचित्य र वामपन्थी आन्दोलनको पुनरोदयलाई पुनःपुष्टि गर्दै लगेको छ । साम्राज्यवाद र ठुला प्रविधि कम्पनीहरुको चलखेललाई परास्त गर्दै हालै सम्पन्न निर्वाचनमा ब्राजिलमा राष्ट्रपति लुला डि सिल्भाको विजय समाजवादी र वामपन्थी आन्दोलनको औचित्य, प्रतिरोधी क्षमता (रिजिलिएन्सी) र पुनर्जागरणको प्रतीकका रुपमा रहेको छ । यो भेला विश्वका न्यायप्रेमी जनताहरुले विश्व शान्ति, लोकतन्त्र, मानव अधिकार, सम्मानजनक जीवनयापन, वातावरण संरक्षण, जलवायु न्याय र समाजवादका लागि सञ्चालन गरिरहेका आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछ । विगतका उपलब्धिहरुको रक्षा, कमजोरीहरुको सुधार र आन्दोलनको नवीकरण एवं पुनर्जागरण मार्फत् नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उर्जाका साथ अगाडि बढाउने सङ्कल्प गर्दछ ।
प्रवासी नेपाली
१९. नेपालको लोकतन्त्र र राष्ट्र निर्माणका साझेदारका रुपमा रहेको प्रवासी नेपालीहरुको भूमिकालाई नेकपा (एमाले) उच्च सम्मान गर्दछ । नेपालको पुनर्निर्माणमा प्रवासी नेपालीहरुको प्रभावकारी भूमिका सुनिश्चित गर्न र मताधिकार, नागरिकता, लगानी र सम्मानित रोजगारी, सामाजिक सुरक्षा लगायत उहाँहरुका उचित सरोकारलाई सम्बोधन गर्न पार्टी गम्भीर रहेको विश्वास दिलाउँछ र उहाँहरुसँग नियमित संवाद गर्दै सहकार्य गर्ने दृढता व्यक्त गर्दछ ।
खाडी क्षेत्रमा जारी युद्ध र तनावले त्यहाँ कार्यरत झण्डै २० लाख नेपाली श्रमिकहरुको रोजगारी र जीवन रक्षाको प्रश्न गम्भीर बनेको छ । हामी सरकारलाई त्यहाँ विकसित घटनाक्रमलाई निरन्तर निगरानी गर्दै नेपाली श्रमिकहरुको संरक्षणका लागि आवश्यक तयारी गर्न ध्यानाकर्षण गछौँ ।
विशेष सङ्कल्प
२०. यो राष्ट्रिय भेला देहायको विशेष सङ्कल्प गर्दछ–
– हामी असंवैधानिक ढङ्गले अपहरित गरिएको लोकतन्त्र फिर्ता गरिछाड्ने छौँ । राष्ट्र, लोकतन्त्र र आन्दोलनको हितका लागि अग्रपङ्क्तिमा उभिएर बलिदान दिन हमेशा तयार रहने छौँ ।
– हामी सिङ्गो पार्टीलाई वैचारिक, साङ्गठनिक र भावनात्मक रुपमा एकताबद्ध, सुदृढ र गतिशील बनाउन आ–आफ्नो ठाउँबाट अधिकतम योगदान गर्नेछौँ ।
– गतः वर्ष व्यहोर्नु परेको धक्कालाई चिर्दै धुलो टक्टक्याउँदै उठ्न, आन्दोलनको पुनरुत्थान गर्न र पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न उच्च मनोबलका साथ अगाडि बढ्ने छौँ । हामी एउटा लडाइँमा पराजित भएका हौँ, सिङ्गो युद्ध हारेका होइनौँ । आगामी निर्वाचन मार्फत् यस सत्यलाई स्थापित गरिछाड्ने छौँ ।
– हामी पार्टीले गरेका ऐतिहासिक कामहरुप्रति गर्व गर्छौँ । कमी-कमजोरीहरुलाई बिना मोलाहिजा सच्याउँने छौँ । सकारात्मकता, नयाँ गति र उच्च मनोबलका साथ अगाडि बढ्नेछौँ ।
– हामी जनताको बिचमा जानेछौँ । उहाँहरुका सुझाव, गुनासा र आलोचना सुन्नेछौँ । तिनलाई आत्मसात गर्नेर्छौं ।
– युवा पुस्तासँग संवाद गर्नेछौँ । उहाँहरुको मनोविज्ञान र सरोकारलाई बुझ्नेछौँ । उहाँहरुसँग सहकार्य गर्नेर्छौँ र आन्दोलनमा उहाँहरुको सहभागिता र प्रभावकारी भूमिका सुनिश्चित गर्नेर्छौँ ।
– हामी जिम्मेवारी लिँदा लिएको शपथ ग्रहणप्रति हमेशा प्रतिबद्ध रहने छौँ । नैतिक, पारदर्शी, सादा, उद्यमशील, स्वावलम्बी र स्वच्छ आचरणयुक्त जीवन बिताउने छौँ । मुलुकको संविधान, कानुनसँगै पार्टी विधान, नियमावली र आचार संहिताको अक्षरशः पालना गर्नेछौँ ।
– पार्टी पङ्क्तिमा देखापरेका विलासी शैली, औपचारिकता, जनताबाट टाढिने प्रवृत्ति र यान्त्रिकतालाई अन्त्य गर्नेर्छौँ र जनताको सेवकका रुपमा स्थापित हुनेछौँ ।
– कतिपय नेता कार्यकर्तामा देखापरेका आर्थिक तथा आचरणगत विचलन, विकृति र भ्रष्टताप्रति निर्मम हुनेछौँ । तिनलाई हटाउनेछौँ । स्वच्छ, जनसेवी र भरोसायोग्य अगुवाका रुपमा नेकपा (एमाले) को छविलाई थप उज्यालो बनाउनेछौँ ।
– निर्वाचनमा निर्धारित विधि एवं जनता र कार्यकर्ताको भावना अनुरुप स्वस्थ ढङ्गले उम्मेदवार चयन प्रक्रियामा सहभागी हुनेछौँ । पार्टीको निर्णयलाई आत्मसात गर्दै पार्टी उम्मेदवारलाई विजय बनाउन सम्पूर्ण शक्ति केन्द्रित गर्नेछौँ ।
– महङ्गी, अभाव, विस्थापन, वेरोजगारी, विभेद, बसाइसराइँ, निशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य जस्ता जनसरोकारका विषयमा सबैभन्दा अगाडि रहेर आवाज उठाउने छौँ । समाधानका लागि पहल गर्नेछौँ । सुखदुःखमा हमेशा जनताको साथमा रहनेछौँ ।
– अधिवेशन र बैठकहरुमा स्वस्थ वहस गर्ने छौँ । सहमति निर्माणको प्रयास गर्नेर्छौँ । लोकतान्त्रिक विधिबाट हुने फैसलालाई हार्दिकतापूर्वक सम्मान गर्नेर्छौँ ।
– गुटबन्दी, अस्वस्थता र नकारात्मकतालाई निषेध गर्नेर्छौँ । आफूलाई लागेका कुरा निर्धक्कताका साथ सम्बन्धित कमिटीमा राख्नेछौँ । सार्वजनिक रुपमा पार्टी नीति, निर्णय र नेतृत्वको प्रतिरक्षा गर्र्नेर्छौँ ।
– असहमतिहरुलाई सम्मान गर्नेछौँ । असझदारी र अस्वस्थता हटाउने छौँ । सबै कमरेडहरुलाई उचित ढङ्गले जिम्मेवारी बाँडफाँट गर्नेर्छौँ । सिङ्गो पार्टीको उर्जालाई एकजुट बनाउन हरसंभव प्रयत्न गर्नेर्छौँ ।
– हामी आफ्नो जिम्मेवारीलाई गंभीरता, इमान र पूर्ण क्षमताका साथ पूरा गर्नेछौँ । आफ्नो काम र कार्यक्षेत्रको परिणामप्रति पूर्ण जवाफदेही हुनेछौँ । अरुतिर औँला तेस्र्याएर आफू दायित्वबाट पञ्छिने छैनौँ ।
– महिला हिंसा, जातीय विभेद र छुवाछुत, श्रमिकहरुप्रति अवहेलना, अन्धविश्वास, कुरीति र राज्य एवं सामुदायिक स्रोतहरुको दुरुपयोगप्रति घृणा गर्नेर्छौँ । सामाजिक एकता, सद्भाव, सहिष्णुता, स्वच्छता र मर्यादाको अगुवाइ गर्नेछौँ ।
– हामी विश्वास गर्छौँ- पार्टीको शक्तिका स्रोत जनविश्वास हो । नेतृत्वको आधार पार्टी पङ्क्ति र समाजबाट प्राप्त विश्वास हो । सङ्गठनको शक्ति विधि र अनुशासनमा निहित हुन्छ । राजनीतिको आदर्श जनताको सेवा हो । पार्टीको भविष्य आफूभित्र हुने रुपान्तरण र सामाजिक रुपान्तरणमा खेल्ने भूमिका हो । हामी यसै आधारमा अगाडि बढ्नेछौँ ।
विविध
२१. यस भेलालाई उर्जा दिने कलाकारहरु एवं भेला व्यवस्थापनमा सहयोग पु¥याउने सबै स्वयंसेवक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीहरु र बैठकका लागि हल उपलव्ध गराउन कार्की पार्टी प्यालेसलाई नेकपा (एमाले) धन्यवाद ज्ञापन गर्दछ ।




