काठमाडौ – पूर्वसांसद मञ्च नेपालको दुईदिने राष्ट्रिय भेलाले देशमा बढ्दै गएको हत्याहिंसा, अपहरण, चन्दाआतङ्क बलात्कारप्रति चिन्ता व्यक्त गर्दै अपराध नियन्त्रण गरी जनतालाई शान्ति सुरक्षा दिन सरकारसँग माग गरेको छ ।
यसैगरी महङ्गी बढ्दै गएको र यसले लोकतान्त्रिक गणतन्त्रप्रति नै वितृष्णा फैलाउने कार्य भइरहेकाले महङ्गी घटाउन र जनतालाई सर्वसुलभ मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन माग गरिएको छ ।
भेलाको प्रस्तावमा गणतान्त्रिक संविधान थपिएको समयभित्रै निर्माण हुनुपर्ने माग गरिएको छ भने पूर्वसांसद मनबहादुर विश्वकर्माको मृगौला रोगको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ ।