सत्तासाझेदार दलहरुद्वारा मुलभुत रुपमा सहमति नजुटाएसम्म व्यवस्थापिका संसदको नियमित अधिवेशन नवोलाउने निर्णय

काठमाडौ –  प्राप्त समाचार अनुसार सत्तासाझेदार दलहरुको आज बसेको बैठकले दलहरुबीच मुलभुत रुपमा सहमति नजुटाएसम्म व्यवस्थापिका संसदको नियमित अधिवेशन नवोलाउने निर्णय गरेको छ ।


आज प्रधानमन्त्रीको सरकारी  निवास वालुवाटारमा बसेको सत्तासाझेदार दलहरुको बैठकले दलहरुबीच सहमति नभएसम्म नियमित अधिवेशनबाट मात्र निकास ननिस्कने भन्दै सहमति जुटाएर मात्र बैठक बोलाउने सहमति गरेको बैठकपछि सभासद एकनाथ ढकालले जानकारी दिनुभयो ।


प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार रघुजी पन्तले दलहरुको सहमति अनुसार नियमित अधिवेसन वोलाउने बताउनुभयो । यस्तै बैठकले पुष मसान्तमा सकिनै लागेको नेपालस्थित राष्ट्रसंघीय मिसन अनमिनको समयावधि नथप्ने सहमति पनि जुटाएको छ ।


एकीकृत नेकपा माओवादीले अनमिनको म्याद थप्नु पर्ने अडान राख्दै आएको छ । यस्तै बैठकले विद्यमान गठबन्धनवाटै नयां सरकार गठन गर्ने सहमति पनि गरेको छ । बैठकमा दलहरुबीच बढेको तित्तता र पछिल्लो राजनीतिक समीकरणका विषयमा छलफल हुने बताइएको छ ।


बैठकमा पछिल्लो राजनीतिक अवस्था, तीन दलबीच भएको सहमति लगायतका विषयमा पनि छलफल भएको बताइएको छ । बैठकमा अनमिनको समयसिमा समाप्त भए पछिको विशेष समितिलाई सकि्रय बनाउने बारे पनि छलफल भएको बताइएको छ ।