प्रधानमन्त्री नेपालद्वारा संसद्को नियमित अधिवेशन पुस १९ गते डाक्नेबारे मन्त्रिपरिषद्लाई जानकारी

काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार प्रधानमन्त्री माधवकुमार नेपालले संसद्को नियमित अधिवेशन पुस १९ गते डाक्नेबारे मन्त्रिपरिषद्लाई जानकारी दिएका छन्। पुस १९ गते बैठक बस्नेगरी अधिवेशन डाक्न राष्ट्रपति रामवरण यादवलाई सिफारिस गर्ने आफ्नो सोच रहेको आइतबार मन्त्रिपरिषद् बैठकमा उनले राखेका थिए।

 

‘मैले १९ गतेका लागि सोचेको छु, सात दिनभन्दा ढिला नगरौं भन्ने मेरो सोच हो,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै मन्त्री लक्ष्मणलाल कर्णले भने। नेपालले सोमबार दिउँसो तीन दलका नेतासँग छलफल गरी तिथि तोक्ने पनि जानकारी दिएका थिए।

प्रधानमन्त्री नेपालले परराष्ट्र मन्त्रालयमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण शुभारम्भ गर्न आयोजित समारोहमा भेट हुँदा सभामुख सुवासचन्द्र नेम्वाङसँग पनि संसद्को अधिवेशन छिट्टै बोलाउने बताएको स्रोतले जानकारी दियो।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले पनि कांग्रेसले १८ गतेअघि नबोलाउन आग्रह गरेकाले त्यसपछि यथाशीघ्र दलहरूसँग छलफल गरी अधिवेशन डाक्ने बताए। उनले तिथिबारे निर्णय गर्न बाँकी रहेको नागरिकलाई जानकारी दिए।

प्रमुख तीन दल एकीकृत माओवादी, कांग्रेस र माओवादीबीच संसद्को हिउँदे अधिवेशन यथाशीघ्र बोलाउने सहमति भएपछि प्रस्ताव फिर्ता लिएर विशेष अधिवेशन अन्त्य गरिएको थियो।

कांग्रेस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले कांग्रेसले पुस १८ वा १९ मा अधिवेशन बोलाउन आग्रह गरेको बताए। ‘१६ गते राष्ट्रिय मेलमिलाप दिवस परेकाले कांग्रेसको देशभरि कार्यक्रम छ,’ घिमिरेले भने, ‘१५ गते ल्होसार र १७ गते शनिबार परेकाले त्यसपछिमात्र बोलाउन भनेका हौं।’ माओवादीले पुस १५ अगावै अधिवेशन डाक्न आग्रह गरेको छ।