नेपाल राष्ट्रियता संकटग्रस्त अवस्थामा पुगेको सत्ताधारी दल नेपाली कांग्रेसको ठहर

– कुलचन्द्र न्यौपाने

 

काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार सत्ताधारी दल नेपाली कांग्रेसले शान्ति र लोकतन्त्रमाथि आएको खतराले राष्ट्रियता संकटग्रस्त अवस्थामा पुगेको ठहर गरेको छ । शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधान निर्माणमा माओवादीले इमान्दारी नदेखाउँदा राष्ट्रियतामाथि संकट उब्जेको उसको ठम्याइ छ ।

राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भ पारेर शुक्रबारदेखि सुरु गर्न लागेको देशव्यापी जनजागरण अभियान कार्यकर्तामाझ लैजान लागेको पार्टीको दस्तावेजमा कांग्रेसले ‘शान्ति र लोकतन्त्रमाथि गम्भीर खतराको कालो बादल मडारिरहेको’ उल्लेख गरेको छ । ‘यसबाट हाम्रो राष्ट्रियता नै संकटग्रस्त हुन पुगेको छ,’ जागरण अभियान क्रममा राष्ट्रियतालाई सबल बनाउने मुद्दासमेत पार्टीले प्रमुख रूपमा उठाउने उल्लेख गर्दै दस्तावेजमा भनिएको छ ।

माओवादीले उठाएको एजेन्डामा कांग्रेस गएको भन्दै पार्टीका केही नेताहरूले असन्तुष्टिसमेत जनाएका छन् । कांग्रेस केन्द्रीय सदस्य रामशरण महत भने माओवादीको राष्ट्रियतासँग कांग्रेसले उठाउने राष्ट्रियताको मुद्दा कतै पनि मेल नखाने बताउँछन् ।

‘माओवादीको राष्ट्रियता अहिलेको अवस्थामा भारतविरोधीमा केन्द्रित देखिएको छ । तर हाम्रो त्यस्तो होइन,’ महतले भने, ‘हाम्रो राष्ट्रियता भनेको राष्ट्रिय शक्तिहरू एक हुनुपर्छ । विभाजन हुँदा राष्ट्रियता संकटग्रस्त बन्न पुग्छ भन्ने हो ।’ उनले अहिले दलहरू कमजोर हुँदा विदेशी ‘हेपाहा’ प्रवृत्ति बढेको बताउँदै यसले अन्ततः लोकतन्त्र कमजोर हुने र त्यसका कारण नेपाली राष्ट्रियतामा खतरा उत्पन्न हुने बताए । ‘उदारवादी प्रजातन्त्रलाई आत्मसात गरेर अघि बढेमा राष्ट्रियता पनि सबल हुन्छ,’ महतले भने, ‘कांग्रेसले त्यसैका लागि ‘दिगो शान्ति अनि लोकतान्त्रिक संविधान, सबल राष्ट्रियताको हाम्रो अभियान’ नारा दिएर जनजागरण अभियानमा जान लागेको हो ।’

सदनमा ठूलो दलका रूपमा उदाएको माओवादीले जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्न शान्ति र लोकतन्त्रलाई आत्मसात गर्न तयार नदेखिएकाले राष्ट्रियता संकटमा परेको दस्तावेजमा कांग्रेसले उल्लेख गरेको छ । अभियानमा जाने नेताहरूको धारणामा एकरूपता ल्याउन पार्टीको आधिकारिक दस्तावेज तयार पारी त्यसैको आधारमा बोल्न र जनताबीच अभियान थाल्नसमेत सबै जिल्लामा र्सर्कुलर जारी गरिएको छ । 

 अभियान शुक्रबार मुलुकभर एकैसाथ सुरु हुँदैछ । त्यसका लागि खटिएका झन्डै सय नेताहरू जिल्ला जान सुरु गरेका छन् । कांग्रेस सभापति सुशील कोइराला विराटनगर, शेरबहादुर देउवा चितवन र संसदीय दलका नेता रामचन्द्र पौडेल सप्तरी खटिएका छन् । केन्द्रीय सदस्य र अन्य नेताहरूसमेत यो अभियानमा खटिएका छन् । कांग्रेसले अभियानका क्रममा सबै भ्रातृ संस्था र कार्यकर्तालाई परिचालन गरी गाउँ तहसम्म लैजाने भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले शान्ति प्रक्रिया र लोकतन्त्रलाई टुंगोमा पुर्‍याउन अभियानले बल पुग्ने बताए । यसले राष्ट्रियस्तरमा सहमतिका लागि भइरहेका वार्ता र संवादलाई असर नपुग्ने बताउँदै यो अभियान कसैकाप्रति लक्षित नरहेको बताए । ‘हो, माओवादी शान्ति र संविधान निर्माणमा इमान्दारीपर्ूवक देखिएको छैन । उसले पछिल्लो समय लोकतन्त्र र बहुलवाद जस्ता आधारभूत विश्वव्यापी मान्यतालाई समेत अस्वीकार गर्न थालेको छ । यसले लोकतान्त्रिक संविधान निर्माण हुनेमा आशंका उब्जिएको छ,’ कोइरालालेभने, ‘माओवादीलाई लोकतन्त्रप्रति प्रतिबद्ध गराउन जनदबाब सिर्जना गराउने पनि हाम्रो अभियान हो ।’

अभियानअर्न्तर्गत पार्टीको सुदृढीकरणमा पनि जोड दिने योजना छ । पुस मसान्त सम्म शान्ति र संविधानका लागि जनसभा, भेला, गाउँ, नगर र वडा समितिस्तरमा बैठक,  क्रियाशील सदस्यता, र्समर्थक, बुद्धिजीवीबीच भेला र अन्तक्रिर्या गर्ने, पार्टीको १२ औं महाधिवेशनको नीति तथा कार्यक्रमलाई जनस्तरमा लैजाने, विकास निर्माण र आर्थिक, सामाजिक समस्याबारे छलफल गर्नेजस्ता कार्यक्रम समावेश छन् । माघ १५ देखि मसान्तसम्म जिल्लाभित्रका सबै निर्वाचन क्षेत्रमा भेला, जनसभा, कार्यकर्ता प्रशिक्षणजस्ता कार्यक्रम छन् । फागुन १५ सम्म प्रशिक्षण, गोष्ठी र सेमिनारलाई निरन्तरता दिई जनदबाब सिर्जना गर्न र्‍याली र आमसभा गर्ने कार्यक्रम छ ।