अनमिनको नेपालमा रहेको भूमिकालाई निरन्तरता दिन सकिने गगन थापाको भनाई


दिलीप पौडेल, 

बाग्लुङ – संचारमाध्यमहरुले जनाए अनुसार  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अनमिनको नेपालमा रहेको भूमिकालाई निरन्तरता दिन सकिने बताएका छन्। कांग्रेस र एमालले सम्मिलित सरकारले अनमिनलाई विदाई गर्ने निर्णय गर्दा कांग्रेसकै युवा नेता थापाले यस्तो बताएका हुन्। 


नेपाल प्रेस युनियन बाग्लुङले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा थापाले भने, ‘सर्तसहित नयाँ स्वरुपमा थप दुई महिनाको लागि अनमिनको समय थप गर्न सकिन्छ।’ अनमिनलाई विदाई गर्ने हो भनेपनि माओवादी लडाकुलाई

माताहतमा राख्न भरपर्दो रुपमा सेना समायोजन विशेष समितिको कार्यविधि तयार गर्नुपर्ने थापाको तर्क थियो। ‘लडाकुलाई मताहतमा राख्ने वैकल्पिप संरचना तयार गरेरमात्र अनमिनको बहिर्गमनको निर्णय गर्नुपर्छ,’ थापाले भने, ‘तर, वर्तमानकै कार्यशैलीमा अनमिनको समय थप गर्न सकिँदैन।’ 


थापाले शान्ति र संविधानलाई पूरा गर्न नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलापको नीतिसहित जागरण अभियानमा सुरु गरको बताए। ‘दक्षिणपन्थी र उग्रबामपन्थीले चलखेल गर्न चाहिरहेका छन्,’ थापाले भने, ‘संविधान नबनेर रिक्तता सिर्जना भएमा छिमेकी मुलुक लगायत महाशक्ति राष्ट्रले समेत उपस्थिति बढाउन सक्छन्।’ 


अहिलेको जटिल मुद्दा माओवादी लडाकुको समयोजन भएको थापाले बताएका छन्। ‘माओवादीले आफ्नो अभिष्ट पूरा गर्नको लागि सेना समायोजन गर्न चाहेको छैन,’ थापाले भने, ‘नेपाली कांग्रेसले माओवादीको शिविरमा लडाकु राख्ने संरचनालाई अन्त्य गर्न चाहान्छ।’


—