
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बालकुमारीमा घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको लापरबाही देखिएको दाबी गरेका छन् ।


सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले थाहा हुँदाहुँदै आन्दोलन भएको बाटोमा मन्त्रीको यात्रा लापरबाहीका कारण भएको बताएका हुन् ।
‘पीएसओले नजाऔँ भन्दाभन्दै, त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै जानु यो जबरजस्ती हो, चरम लापरबाही हो, हेपेको हो,’ उनले भने, ‘सामान्य व्यक्तिले गर्ने लापरबाहीले कत्रो मूल्य चुकाउनु पर्छ, त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरबाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो ।’
घटनाको छानबिन गर्न गठित समितिले मन्त्रीले गरेको लापरबाही पनि हेर्नु पर्ने उनको भनाइ थियो । ‘यो समितिले मन्त्रीको लापरबाही हेर्छ की हेर्दैन ?,’ उनले भने ।
गत शुक्रबार ललितपुरको बालकुमारीमा कोरियाली भाषा परीक्षा (ईपीएस)मा सहभागी हुन पाउनु पर्ने माग राख्दै युवाहरूले गरेको प्रदर्शनमा दुई युवाको मृत्यु भएको थियो । यस्तै, प्रदर्शनकारीले मन्त्रीको गाडी जलाइदिएका थिए ।







