नेपाल सम्बन्धी दिल्ली सम्मेलन सुरु

काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार नेपालको विषयमा छलफल गर्न भारतको राजधानी नयाँ  दिल्लीमा विवेकानन्द फाउण्डेसनले आयोजना गरेको सम्मेलनको बिहीबार उपप्रधान एवम सुजाता कोइरालाले उदघाटन गर्नुभएको छ ।


नेपालको जारी शान्ति प्रक्रिया, संविधान लेखन, सेना समायोजना र नेपालको राजनीतिक अवस्थाका विषयमा छलफल हुने सो सम्मेलनको उदघाटन गर्दै उपप्रधानमन्त्री कोईरालाले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणलाई निश्कर्षमा पुर्याउन लागि परेको  जानकारी दिनुभयो ।


कार्यक्रममा उहाँले नेपाल र भारतको सम्बन्ध बहुआयामिक भएको भन्दै नेपालको समग्र विकासमा भारतीय सहयोग महत्वपूर्ण भएको बताउनुभयो । नेपाल र भारत मिलेर अगाडि बढनु पर्ने आवश्यकता औल्याउँदै  शान्ति र संविधानलाई निश्कर्षमा पुर्याउन भारतको सहयोग अपरिहार्य हुने बताउनुभयो ।


फाउण्डेसनका डाईरेक्टर अजित दुगडले नेपाल र भारतको सम्बन्धलाई बहुआयामिक रुपमा हेर्नु पर्ने अवश्यकता औल्याउँदै नेपालमा शान्ति स्थापना गरेर आर्थिक प्रगति तर्फ लागे नेपाल भारत दुबैको हित हुने दावी गर्नुभयो । दोस्रो सत्रमा नेपालको राजनीतिक अवस्थाको विषयमा डा बाबुराम भट्टराईले नेपालको राजनीतिक अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।


कार्यपत्र प्रस्तुत गर्दै भट्टराईले नेपालमा जारी राजनीतिक गतिरोधको अन्त्यको लागी सहमतिको विकल्प नभएको दावी गर्नुभयो । उहाँले मुलुकमा अहिले को प्रधानमन्त्री बन्छ भन्दा पनि सहमति कायम गरेर अगाडि बढने कुरा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपालको राजनीतिक गतिरोध अन्त्यमा भारतीय सदभाव आवश्यक रहे पनि नेपालमा के गर्ने भन्ने निर्णय नेपालका राजनीतिक दलहरुले नै गर्नु पर्ने स्पष्ट पार्नुभयो । सो सत्रमा  नेपाली काग्रेसका प्रदिप गिरी र हरि शर्माले बोल्ने कार्यक्रम रहेको छ ।

तेस्रो सत्रमा नेपालको संविधान लेखनको विषयमा छलफल हुने छ ।


नेपालका लागि पूर्व राजदुत केभी राजनले चेयर गर्ने सो सत्रमा अग्नी खरेल, भिमार्जुन आचार्य, प्रदिप ज्ञावली र रामशरण महतले बोल्नु हुने छ भने आजै हुने चौथो सत्रमा माओवादी लडाकुको समायोजन र पुर्नस्थापना सम्बन्धमा छलफल हुने छ त्यसमा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवाल र माओवादी डेपुटी कमाण्डर बर्षमान पुनले धारणा राख्नु हुने छ ।