– प्राप्त पछिल्लो समाचार अनुसार करिव छ महिनादेखि जारी रहेको प्रधानमन्त्री निर्वाचन प्रकृया कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको उम्मेदवारी फिर्तासंगै अन्त्य भएको छ ।
पौडेलले १७ औं चरणको प्रधानमन्त्री निर्वाचन अघि उम्मेदवारी फिर्ता लिएपछि नयाँ प्रकृयामा प्रवेश गर्ने ढोका खुलेको हो ।
पौडेलका प्रस्तावक कांग्रेस नेता शेरबहादुर देउवाले सहमतिको सरकार गठनका लागि पौडेलको उम्मेदवारी फिर्ता लिएको घोषणा गरे । उम्मेदवारी फिर्ता लिने देउवाको प्रस्ताव संसदले सर्वसम्मत पारित गरेको छ ।
‘जारी निर्वाचन प्रक्रियाले ६ महिनासम्म सरकार निर्माण हुन सकेन,’ देउवाले उम्मेदवारी फिर्ता लिन संसदमा बोल्दै भने, ‘नयाँ प्रक्रियाबाट राजनीति सुरु होस् भन्ने चाहनाले हामीले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छौं ।’
यसअघि काँग्रेसले एक दिनका लागि प्रधानमन्त्रीको निर्वाचन सार्न प्रस्ताव गरेको थियो । संविधानसभा भवनमै भएको माओवादी, काँग्रेस र एमाले नेताहरुबीच भएको बैठकमा माओवादी र एमाले निर्वचन स्थिगत गर्न नमानेपछि काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको थियो ।
यसअघि सहयोगको आश्वासन दिएका प्रधानमन्त्री माधवकुमार नेपाल र एमाले नेता केपी ओलीले काँग्रेस सभापति सुशिल कोइरालालाई पार्टीमा आफुहरुले गरेको प्रयास सफल हुन नसकेको जनाउँदै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।