राजनीतिक संकट जारी: प्रमुख तीन दलद्वारा शान्ति प्रक्रियासम्बन्धी विषयमा सहमति खोज्ने प्रस्ताव तयार गर्न ६ सदस्यीय कार्यदल

काठमाडौं – काठमाडौंबाट अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार अनुसार  प्रमुख तीन दलले शान्ति प्रक्रियासम्बन्धी विषयमा सहमति खोज्ने प्रस्ताव तयार गर्न ६ सदस्यीय कार्यदल बनाएका छन् ।

तीन दलका शीर्ष नेताको बिहीबारको बैठकले कार्यदल बनाउने निर्णय गरेको हो । सहमतीय सरकारका लागि शान्ति प्रक्रियालगायत विषय टुंगोमा पुग्ने आधार तयार गर्नुपर्ने भएपछि त्यसको तयारीका लागि कार्यदल बनाउने निष्कर्षमा दलहरू पुगेका हुन् ।

कार्यदलमा माओवादीका कृष्णबहादुर महरा, वर्षमान पुन, कांग्रेसका रामशरण महत, कृष्णप्रस्ााद सिटौला, एमालेका ईश्वर पोखरेल र भीम रावल छन् । कार्यदलले शुक्रबार छलफल गरी प्रस्ताव तयार गर्नेछ । प्रस्ताव शनिबार बस्ने तीन दलको बैठकमा पेस हुनेछ ।

प्रस्तावको आधारमा दलहरूले सहमति खोज्ने प्रयास गर्नेछन् । 

बुधबार गोकर्णको वार्तामा कांग्रेस र एमालेले शान्ति प्रक्रियाको काम अघि बढे माओवादी नेतृत्व स्वीकार्न सकिने बताएपछि सहमतिको वातावरण बन्दै गएको नेताहरूले दाबी गरेका छन् । बिहीबारको वार्तापछि पनि उनीहरूले सहमति जुट्नेमा आशा व्यक्त गर्दै शनिबार निर्णयमा पुग्ने सम्भावना रहेको बताए ।

‘राष्ट्रिय सहमति निर्माण गर्ने सिलसिलामै छलफल जारी राख्नेछौं, ठोस मुद्दाहरूमा एकताबद्घ भएर जाने भन्ने छ,’ र्‍याडिसन होटलको बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले भने, ‘आपसी छलफल जारी रहेकाले पर्सि (शनिबार) टुंग्याउँछौं ।’

माओवादी स्थायी समिति सदस्य पुनले छलफल सकारात्मक बन्दै गएको बताए । ‘लडाकु संख्याको विषय, प्रक्रियालगायत विषयमा सहमतिमा पुग्न सकिन्छ भन्ने विश्वास सबै नेताको छ,’ उनले भने, ‘तर अहिले पुग्न सकिएको छैन शुक्रबार अनौपचारिक छलफल गरेर सहमतिको आधार तयार गर्ने प्रयास गर्छौं।’

कांग्रेस केन्द्रीय सदस्य महतले सकेसम्म सहमति निर्माण गर्ने प्रयास गरेको बताए । ‘सहमतिको आधार शान्ति प्रक्रिया र संविधानका विषय हुन्,’ उनले भने, ‘विश्वासको वातावरण तय गर्न तयारी गर्नुपर्ने अवस्था छ ।’