– प्रमुख दलहरुको आ-आफ्ना अडान नत्यागेकाले बिहिबार हुने प्रधानमन्त्रीको चुनावबाट राष्ट्रिय सहमतिको सरकार बन्ने संभावना झनै कम भएको छ।
बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न ब्यवस्थापिका संसदमा बिहिबार मतदान हुने कार्यक्रम छ।
तर सोमबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठक पछि पनि बिहिबारको चुनावमा उनीहरुले भन्दै आए जस्तो राष्ट्रिय सहमतिको आधारमा प्रधानमन्त्री चयन हुने कुनै संकेत देखिएन।
बिहिबारको प्रधानमन्त्रीको चुनावको लागि दलहरुले बुधबार सम्ममा आ-आफ्नो उम्मेदवारी दर्ता गरिसक्नु पर्नेछ।
असहमति
तर उम्मेदवारी दर्ता गर्न दुई दिन बाँकी रहंदासम्म प्रधानमन्त्रीको कुनै साझा उम्मेदवारका विषयमा सहमति त परैको कुरा, त्यसबारे गम्भीर छलफल समेत भएको छैन।
नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतका अनुसार सोमबार सिंहदरबारमा बसेको तीन दलका शीर्षस्थ नेताहरुको वैठकमा पनि त्यसबारे कुनै छलफल हुन सकेन।



