काठमाडौ – प्रधानमन्त्री चयनका लागि आज व्यवस्थापिका संसदमा चुनाव हुने कार्यक्रम छ । नयाँ प्रधानमन्त्री चयनको चुनावी प्रक्रिया बुधबारदेखि सुरु भएको हो । मतदानका लागि आज दिउँसो १ बजे संसद बैठक बोलाइएको छ ।
चुनावअघि उम्मेदवारहरुलाई आफ्नो उम्मेद्वारीको औचित्यका विषयमा धारणा राख्न समय दिइने छ । त्यसपछि सामुहिक छलफल हुने र उम्मेदवारी फिर्ता लिनका लागि सभामुखले समय दिनु हुने छ ।
एकभन्दा बढी उम्मेदवार कायम रहेमा प्रधानमन्त्री चयनका लागि मत विभाजनको प्रक्रिया अघि बढाइने छ । आजको चुनावबाट परिणाम आउन नसकेमा माघ २२ गते दोस्रो चरणको र त्यसबाट नतिजा नआएमा बढी मत ल्याउने दुई जनाका बीचमा २३ गते चुनाव गर्ने कार्यक्रम तय भइसकेको छ ।
यसअघिको संसद नियमावली संशोधन गरी बढीमा तीन पटक चुनाव गरी प्रधानमन्त्री चयन गरिने प्रावधान बनाइएको छ । राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दिनुभएको पटक पटकको समयमा दलहरुले सहमति गर्न नसकेपछि बहुमतीय सरकारका लागि चुनावी प्रक्रिया सुरु भएको हो ।
प्रधानमन्त्री चुनिने सम्भावना कम
काठमाडौ । दलहरुबीच सहमति हुन नसकेपछि प्रधानमन्त्रीका लागि चार उम्मेदवारी परेको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष, झलनाथ खनाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बुधबार उम्मेदवारी दिनुभएको हो ।
सबै उम्मेदवारहरु आ-आफ्ना अडानमा कायम देखिएकाले आज हुने चुनावबाट कुनै परिणाम आउन सक्ने स्थिति देखिएको छैन । व्यवस्थापिका संसदमा एकीकृत माओवादीको २ सय ३७ मत रहेको छ । अहिलेसम्म माओवादी अध्यक्ष प्रचण्डलाई समर्थन गर्ने मनस्थितिमा रहेका सात दल माले समाजवादी, राष्ट्रिय जनमुक्ति, जनता दल, नेकपा एकीकृत, नेपा राष्ट्रिय पार्टी, सद्भावना आनन्दीदेवी -सरिता गिरी) को मत जोड्दा पनि माओवादीको पक्षमा जम्मा २ सय ४९ मात्रै पुग्ने अवस्था छ ।
नेपाली काङ्ग्रेसको १ सय १४ र एमालेको १ सय ७ मत रहेको छ । विभिन्न साना दलको समर्थनमा उम्मेदवारी दर्ता गरिए पनि फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको पक्षमा बहुमत जुट्ने सम्भावना अत्यन्त कम छ । उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेसी जनअधिकार फोरम भने अनिणिर्त छ ।