एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने निर्णय गरेको छ । व्यवस्थापिका संसदको नयाँ बानेश्वरमा बसेको स्थायी समितिको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको हो । पार्टी निर्णयप्रति उपाध्यक्ष बाबुराम भट्टराईले भने ‘नोट अफ डिसेन्ट’ लेखेको नेतृ हिसिला यमीले जानकारी दिइन् ।
बैठकमा मतभेद भए पनि बहुमतले एमाले अध्यक्ष खनालको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकमा उपाध्यक्ष बाबुराम भट्टराईले नोट अफ डिसेन्ट लेखेपनि बहुमतले निर्णय गरेकोले उहाँले पनि एमाले अध्यक्ष खनाललाई नै मतदान गर्नुहुने स्रोतले जानकारी दिएको छ ।
उम्मेदवारी फिर्ता लिएर एमाले अध्यक्ष खनाललाई सहयोग गर्ने विषयमा छलफल गर्न माओवादी स्थायी समितिको बैठक संसद् भवन नयाँ बानेश्वर झण्डै तीन घण्टा बसेको थियो ।
एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीको निर्वाचनमा एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री निर्वाचनमा समर्थन गर्ने निर्णय गरेपछि एमाले अध्यक्ष खनाल प्रधानमन्त्री हुने पक्का हुनुभएका छ । संसदको ठूलो दल एकीकृत नेकपा माओवादीले समर्थन गर्ने निर्णय गरेपछि एमाले अध्यक्ष खनाल पक्षमा संसदमा माओवादीको सिट संख्या २३७ र एमालेको १०७ गरी ३४४ सिट हुने छ ।