झलनाथ खनाल नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा जापान सरकारद्वारा बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ – व्यवस्थापिका-संसदद्वारा झलनाथ खनाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा जापान सरकारले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।


सम्पूर्ण राजनीतिक दलको सामूहिक प्रयासले मात्र नेपालको भविष्य सुनिश्चित हुन्छ भन्दै जापान सरकारले नेपाली राजनीतिको यस कठिन मोडमा सबै दलले आपसमा सहमति कायम गरी सम्पूर्ण जनताको त्याग र बलिदानबाट प्राप्त नयाँ संविधान निर्माण कार्य र शान्तिप्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने आशा तथा शुभकामना व्यक्त गरेको छ ।


जापान र जापानी जनता आगामी दिनमा पनि नेपाली जनतासँगको सहकार्य र सहयोग गर्न तत्पर छन् भन्दै आजै साँझ नेपालस्थित राजदूतावासद्वारा जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्ध सदा सुमधुर र दिगो हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।