
संयुक्त राष्ट्रसङ्घीय कार्यालयद्वारा आइतवार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका आवासीय प्रतिनिधि रोवर्ट पाइपरले पुनःस्थापना प्याकेजका लागि अयोग्य लडाकूहरुलाई ४० दिनभित्र सम्पर्क राख्न आह्वान गरेका हुन् ।
पूर्व लडाकूको पुनःस्थापना कार्यक्रममा सहभागी हुने अन्तिम समय आगामी मार्च २२ सम्म राखिएको थियो ।
माओवादी शिविरबाट अघिल्लो वर्ष निकालिएका चार हजार ८ जना अयोग्य लडाकूमध्ये हालसम्म दुई हजार ३ सय ९३ जना मात्र राष्ट्रसङ्घले सञ्चालन गरेको पुनःस्थापना कार्यक्रममा दर्ता भएको सो अवसरमा जानकारी दिइयो ।
शिविरबाट बाहिरिएका अन्य अयोग्य लडाकूलाई पनि छिट्टै सम्पर्कमा आएर सीप आर्जन गर्ने तथा नागरिक जीवन जिउने अवसरलाई सदुपयोग गर्न आवासीय प्रतिनिधि पाइपरले आग्रह गरेका छन् ।
राष्ट्रसङ्घले पुनःस्थापना प्याकेजअन्तर्गत चारवटा कार्यक्रम समावेश गरेको छ । जसमा शिक्षा, घरेलु तथा लघुउद्यम, व्यावसायिक र स्वास्थ्य सेवासँग सम्बन्धित तालिम रहेका छन् ।
तालिममा सहभागी भएकामध्ये केहीले आफ्नै रोजगारी तथा व्यवसाय थालिसकेको पनि आवासीय प्रतिनिधि पाइपरले जानकारी दिए ।
रासस



