
शनिबार दिउँसो सैनिक मन्च टुँडिखेलमा प्रजातन्त्र दिवस मूल समारोह समितिले विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागिता रहने छ ।
२००७ साल फागुन ७ गते जहानियाँ राणाशासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेलाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिन्छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्बजनिक विदासमेत दिने गरेको छ ।
दिवसको अवसरमा प्रधानमन्त्री एवम् प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष झलनाथ खनालले जलपान कार्यक्रम आयोजना गर्नुभएको छ ।
दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति डा. रामवण यादव, प्रधानमन्त्री झलनाथ खनाल र विभिन्न राजनीतिक दलका नेताहरुले जनचाहनाअनुसार समयमै संविधान निर्माण गर्न र शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।



