पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शव यात्रामा हजारौं सर्व साधारण तथा कांग्रेस कायकर्ताहरुको सहभागी

काठमाडौ  – पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शव यात्रा दशरथ रंगशालाबाट सुरु भएको छ । अपरान्ह २ बजे रंगशालाबाट सुरु भएको उनको अन्तिम यात्रा वीर अस्पताल, रत्नपार्क, बागबजार, मैतिदेवी र गौशाला हुँदै पशुपति आर्यघाट पुग्ने छ ।

शव यात्रालाई नेपाली सेना र प्रहरीको गाडीले स्कर्टिङ गरेको छ । भट्टराईको शव राखिएको ट्रकमा उनका सहयोगी अमिता कपाली, कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा चढ्ेका छन् । हजारौं सर्व साधारण तथा कांग्रेस कायकर्ताहरु शव यात्रामा सहभागी भएका छन् । आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिने छ । आर्यघाटमा नेपाली सेनाको एक टुकडीले अन्तिम सलामी दिने छ । आर्यघाटमा अन्तिम संस्कारका लागि चित्ता निर्माण गरिएको छ ।

भट्टराईको पार्थिव शरीरमा उनका साइला दाई गोपालप्रसाद भट्टराईका छोरा प्रमोदले दागवत्ती दिनेछन् ।

शुक्रबार राति ११ बजेर २६ मिनेटमा नर्भिक अस्पतालमा भट्टराईको निधन भएको थियो । शनिबार दिनभर उनको पार्थिव शरीर बाँडेगाउँस्थित निवासमा राखिएको थियो । आइतबार बिहान कांग्रेस केन्द्रीय कार्यालयमा केही बेर राखेपछि भट्टराईको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलिका लागि दशरथ रंगशालामा राखिएको थियो ।

रंगशालामा राष्ट्रपति रामवरण यादव,प्रधानमन्त्री झलनाथ खनाल,कांग्रेस सभापति सुशील कोइराला,माओवादी अध्यक्ष  पुष्पकमल दाहाल लगायतका नेताहरु,विदेशी कुटनीतिकहरु, उच्चपदस्थ कर्मचारी तथा सुरक्ष अधिकारीहरुले श्रद्धान्जलि व्यक्त गरेका थिए । हजारौं सर्वसाधारणहरु श्रद्धान्जलि व्यक्त गर्न रंगशाला पुगेका थिए ।