अर्थ सचिवले अप्रत्यासित रुपमा राजिनामा दिएको भनिएको घटनालाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसद्वारा सरकार तथा अर्थ मन्त्रीको कडा आलोचना

– अर्थसचिवले राजीनामा दिएको भन्ने विषयलाई लिएर मुख्य विपक्षी नेपाली कांग्रेसले बुधबार संसदमा अर्थमन्त्रीको व्यापक विरोध गर्दै प्रधानमन्त्रीको जवाफ मागेको छ।


अर्थ सचिव रामेश्वर खनालले मंगलबार अप्रत्यासित रुपमा राजिनामा दिएको भनिएको घटनालाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार तथा अर्थ मन्त्रीको कडा आलोचना गर्दै व्यवस्थापिका संसदको कारवाही अवरुद्ध पारेको छ।

तर अर्थ मन्त्री भरत मोहन अधिकारीले भने सचिव खनालसंग आफ्नो असमझदारी भएको हुन सक्छ भन्दै उनलाई काममा फर्कन आग्रह गरेका छन्।


बुधबार व्यवस्थापिका संसदको वैठक शुरु हुने वितिक्कै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले अर्थ सचिव रामेश्वर खनालमाथि राजनीतिक दबाब दिइएको भन्दै अर्थ मन्त्रीको तिब्र आलोचना गरेका थिए।


खनालले राजिनामा दिएको भन्ने प्रसंङ्ग लगायतका घटनाबारे प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म सदन चल्न नदिने कांग्रेसको अडानका कारण संसदको बुधबारको वैठक कार्यसूचिमा प्रवेश नै नगरि टुङ्गियो।


कांग्रेसका प्रमुख सचेतक घिमिरेले खनाल प्रकरणमा अर्थ मन्त्री स्वयं नै शंकाको घेरामा रहेको टिप्पणी गरे।