काठमाडौं – आफू चाँडै नेपाल भ्रमणमा आउने संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले इच्छा व्यक्त गरेका छन् । शनिबार प्रधानमन्त्री झलनाथ खनाललाई टेलिफोन गरी महासचिव मुनले नेपाल आउने इच्छा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
महासचिव मुनले आफू चाँडै नेपाल भ्रमणमा आउने इच्छा राख्दै नेपालको शान्ति प्रक्रियालाई सफल बनाउन राष्ट्र संघ हरप्रकारको सहयोग उपलब्ध गराउन तयार रहेको बताए । टेलिफोन संवादमा महासचिव मुनले नेपालको शान्ति र संविधान निर्माणको प्रक्रियामा भइरहेको प्रगतिकाबारे जिज्ञासा राख्दै भने, ‘तपाईंको नेतृत्वको सरकारकै कार्यकालमा यी काम पूरा होउन्, मेरो हार्दिक शुभकामना ।’
प्रधानमन्त्री खनालले मुलुकमा शान्ति र संविधान निर्माण गर्न सरकार दृढ प्रतिज्ञाकासाथ अघि बढिरहेको बताउँदै त्यसमा सकारात्मक प्रगति हासिल भइरहेको महासचिव मुनलाई जानकारी गएका थिए ।
राष्ट्रसंघ महासचिवको समवेदना
महासचिव मुनले शुक्रबार अफगानिस्तानमा भएको आततायी हमलामा पाँच जना नेपालीहरूले ज्यान गुमाउनुपरेकोमा गहिरो शोक र समवेदना प्रकट गरेका छन् ।
मजार-ए-सरिफास्थित राष्ट्र संघीय कार्यालयमा भएको उक्त आक्रमणको निन्दा गर्दै महासचिव मुनले संयुक्त राष्ट्र संघको झण्डामुनि रहेर नेपालले विश्व शान्तिका लागि पुर्याएको योगदानको टेलिफोन संवादमा उच्च प्रशंसा गरेका थिए ।
महासचिव मुनले क्षतिका बावजुद नेपालले राष्ट्र संघीय शान्ति मिशनमा आफ्नो सहभागितालाई निरन्तरता दिने अपेक्षा गरे । प्रत्युत्तरमा प्रधानमन्त्री खनालले भने, ‘यस घटनाका बावजुद नेपालले राष्ट्र संघको आहृवानमा शान्ति स्थापनाको कार्यलाई निरन्तरता दिनेछ । प्रधानमन्त्री खनालले घटनाको छानबिन गरी अपराधीहरूमाथि कडा कारबाही हुने विश्वास पनि व्यक्त गरे ।
प्रधानमन्त्रीद्वारा पनि भर्त्सना
प्रधानमन्त्री झलनाथ खनालले पनि अफगानिस्तानस्थित राष्ट्रसंघीय कार्यालयमा भएको बर्बर र हिंसात्मक आक्रमणको भर्त्सना गरेका छन् । उनले घटनामा त्यहाँ कार्यरत पाँच नेपालीहरूले ज्यान गुमाएकोमा मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्रीले मृतकका परिवारहरूलाई संयुक्त राष्ट्र संघले उचित राहत प्रदान गरी यस दुःखबाट पार पाउन आवश्यक मद्दत गर्ने अपेक्षा राखेका छन् । अफगानिस्तानको राजधानी काबुलको सुदूर उत्तरी भेगमा अवस्थित मस्जिद नजिकै रहेको राष्ट्र संघीय कार्यालयमा शुक्रबार भएको आक्रमणमा ५ नेपालीसहित १३ जनाको मृत्यु भएको थियो ।



