राज्यमन्त्री नियुक्त गरेपछि असन्तुष्ट एमाले नेतृ राधा ज्ञवालीले पद तथा गोपनियताको शपथ लिइनन्

काठमाडौं – असन्तुष्ट एमाले नेतृ राधा ज्ञवालीले राज्यमन्त्री नियुक्त गरेपछि बुधबार पद तथा गोपनियताको शपथ लिइनन् ।

 

प्रधानमन्त्री झलनाथ खनालले उनीबाहेकका राज्यमन्त्रीलाई भने राष्ट्रिय योजना आयोग सभाहलमा शपथ गराए ।

 

प्रधानमन्त्री खनालले सोमबार साँझ शिक्षा राज्यमन्त्री नियुक्त गरेपछि नै उनको मोबाइल ‘स्वीच अफ’ छ, अहिले पनि बोबाइल ‘स्विच अन’ गरिएको छैन ।

 

ज्ञवालीको ल्याण्डलाइन टेलिफोन पनि उठ्दैन । स्रोतका अनुसार ज्ञवालीले कनिष्टलाई पूर्ण मन्त्री बनाउने तर आफूलाई राज्यमन्त्री बनाएर अपमान गरेको निकटवर्तीहरुलाई बताउँदै आएकी छन् ।

 

एमालेभित्र लामो राजनीति गरेकी नेतृ ज्ञवालीले यसअघि पनि पुष्पकमल दाहाल नेतृत्वको माओवादी-एमाले गठबन्धन सरकारमा मन्त्री नबनाएको आक्रोसमा रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलनसम्म गरेकी थिइन् । ज्ञवाली रुपन्देहीबाट एमालेकी समानुपातिक सभासद् हुन् ।

 

प्रधानमन्त्री खनालले बुधबार नै शीतल निवासमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा एमालेका चार मन्त्रीलाई शपथ गराएका छन् । हतियारधारीको आक्रमणमा घाइते ऊर्जा मन्त्री गोकर्ण विष्टले भने स्वास्थ्यमा पूर्ण सुधार नभएकाले शपथ लिएनन् । उनले पछि शपथ लिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 

सत्ता साझेदार दल माओवादीलाई विश्वासमा लिन नसकेपछि प्रधानमन्त्री झलनाथ खनालले सोमबार आफ्नो पार्टीका पाँच मन्त्री र सात राज्यमन्त्री थपेर तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

 

प्रधानमन्त्री खनालले उर्मिला अर्याल (स्थानीय विकास), रघुवीर महासेठ (सिँचाइ), गोकर्ण बिष्ट (ऊर्जा), भानुभक्त जोशी (वन तथा भूसंरक्षण) र युवराज कार्की (सामान्य प्रशासन) लाई नियुक्त गरेका थिए ।

 

यसैगरी राज्यमन्त्रीमा राधा ज्ञवाली (शिक्षा) शत्रुघन महतो (स्थानीय विकास), दलबहादुर सुनार (सिँचाइ), रामजी शर्मा (ऊर्जा), डम्बर सम्बाहाम्फे (सामान्य प्रशासन), भगवती चौधरी (वन तथा भूसंरक्षण) र ल्हारक्याल लामा (अर्थ) लाई नियुक्त गरेका थिए ।

 

अर्याल एमालेको पोलिटब्युरो, जोशी, बिष्ट र महासेठ केन्द्रीय सदस्य र कार्की पूर्वकेन्द्रीय सदस्य हुन् । जोशी, महासेठ र कार्की सभासद पनि हुन् । बिष्टले संविधानसभा चुनाव हारेका थिए भने अर्याल उम्मेदवारै थिइनन् । राज्यमन्त्रीमा नियुक्ति पाएका भने सबै सभासद हुन् । स्थानीय विकासमन्त्रीमा नियुक्त अर्यालबाहेक अन्य ११ जना सबै नयाँ अनुहार हुन् । अर्याल यसअघि महिला, बालबालिका तथा समाजकल्याण मन्त्री भएकी थिइन् ।

 

एमालेतर्फबाट यसअघि उपप्रधान तथा अर्थमन्त्रीमा भरतमोहन अधिकारी, रक्षामन्त्रीमा विष्णु पौडेल र शिक्षामन्त्रीमा गंगालाल तुलाधर छन् । प्रधानमन्त्रीले माघ २७ मा एमालेका तीन मन्त्री र फागुन २० मा माओवादीका चार मन्त्री थपेर दुई पटक विस्तार गरेका थिए ।

 

 

एमालेका नव नियुक्त मन्त्रीहरुले बुधबार सपथ ग्रहण

 

काठमाडौ  – एमालेका नव नियुक्त मन्त्रीहरुले बुधबार सपथ ग्रहण गरेका छन् । मन्त्रीहरुको दिउसो साढे १२ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथ लिएका हुन् । राज्य मन्त्रीहरुको सिंहदरबार स्थित योजना आयोगगको हलमा सपथ ग्रहण  कार्यक्रम राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  राष्ट्रपति रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री झलनाथ खनालले मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् ।

पछिल्लो पटक प्रधानमन्त्री झलनाथ खनालले् सोमबार पार्टीका पाँच मन्त्री र सात राज्य मन्त्री समावेस गरेर मन्त्रीमण्डल तेस्रो पटक विस्तार गरेका थिए । मंगलबार सार्वजनिक विदा परेकाले बुधबार सपथ कार्यक्रम राखिएको हो ।

अज्ञात समूहको आक्रमाणमा परी घाइते भई उपचाररत नव नियुक्त उर्जा मन्त्री गोकर्ण विष्टले भने पछि सपथ लिने भएका छन् । विस्तारित मन्त्री परिषदको बैठक अपरान्ह्र तीन कजे बोलाइएको छ ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरु


उर्मिला अर्याल    स्थानीय विकास


रघुवीर महासेठ    सिँचाइ


गोकर्ण बिष्ट    ऊर्जा


भानुभक्त जोशी    वन तथा भूसंरक्षण


युवराज कार्की    सामान्य प्रशासन


 


राज्यमन्त्री


राधा ज्ञवाली    शिक्षा


शत्रुघन महतो    स्थानीय विकास


दलबहादुर सुनार    सिँचाइ


रामजी शर्मा    ऊर्जा


डम्बर सम्बाहाम्फे    सामान्य प्रशासन


भगवती चौधरी    वन तथा भूसंरक्षण


ल्हारक्याल लामा    अर्थ