काठमाडौं – नयाँ वर्षको अवसरमा प्रधानमन्त्री झलनाथ खनालले बिहीबार सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरे ।
चियापान समारोहमा राजनीतिक दलका नेता, सभासदहरु, विदेशी कुटनीतिज्ञहरु, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी तथा एमाले, माओवादीलगायत दलका कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति थियो । तर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री खनालले आयोजना गरेको चियापानमा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओली गएनन् ।
चियापानकै कारण एमाले स्थायी समितिको बैठक बिहीबार स्थगित गरिएको थियो । खनाल प्रधानमन्त्री निर्वाचित भएलगत्तै गृह मन्त्रालय माओवादीलाई नदिन आग्रहसहितको पत्र बुझाउन बालुवाटार पुगेका ओलीलाई सुरक्षाकर्मीले छिर्न नदिएपछि उनी फर्किएर गएका छैनन् । ‘अबदेखि खनाललाई भेट्न बालुवाटार आउँदिन’ भन्दै ओली फर्किएका थिए ।
पछिल्लो मन्त्रिमण्डल विस्तारपछि पनि नेपाल-ओली खनालसँग चिढिएका छन् । दुवै नेताले सिफारिस गरेका नेतालाई मन्त्री नबनाएपछि दुई नेताले सार्वजनिकरुपमै प्रधानमन्त्रीको आलोचना गरेका थिए ।
नेपाल-ओली प्रधानमन्त्रीको चियापानमा नगएपछि उपस्थित नेता तथा एमाले कार्यकर्ताहरुले ‘खासखुस’ गरेका थिए । चियापानमा भारतीय राजदूत राकेश सूद पनि गएका थिए ।
प्रधानमन्त्रीको चियापान समारोहमा राष्ट्रपति रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलगायत शीर्ष नेताहरु सहभागी भए ।
कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा, रामशरण महत पनि चियापानमा सहभागी भए । तर कांग्रेस सभापति सुशील कोइराला र संसदीय दलका नेता रामचन्द्र पौडेल पनि चियापानमा देखिएनन् ।
मधेसवादी र साना दलका नेताहरु पनि प्रधानमन्त्रीको चियापानमा देखिए । तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयष त्रिपाठी, राजेन्द्र महतो, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका चन्द्रदेव जोसी, सरिता गिरीलगायतका नेताहरु पनि चियापानमा सहभागी भए ।



